काठमाडौं । वर्षा रोकिएपछि अवरुद्ध प्रमुख राजमार्ग खुलाउने तयारी तीव्र पारिएको छ। पृथ्वी राजमार्गलगायत सडकका पहिरो हटाएर आज दिउँसोसम्म सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ।
बुधबारदेखि परेको अविरल वर्षाका कारण राजधानी काठमाडौं जोड्ने प्रमुख सडकहरू पृथ्वी राजमार्ग, बीपी राजमार्गलगायत देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
आइतबारदेखि वर्षा कम भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड खुलाएर पोखरातर्फ जाने सवारीसाधन सञ्चालनमा ल्याइएको थियो। मुग्लिन–काठमाडौं सडकखण्डमा पनि विभिन्न स्थानमा खसेका पहिरो हटाइएको थियो। यद्यपि केही स्थानमा सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको छ।
आइतबार साँझ बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारामा ठूलो ढुंगासहित पहिरो खसेपछि पृथ्वी राजमार्ग पुनः दुईतर्फी अवरुद्ध भएको छ। उक्त पहिरो हटाएर काठमाडौं जोड्ने प्रमुख राजमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको धादिङ प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार राति पहिरो हटाउन सम्भव नभएकाले सोमबार बिहानैदेखि काम सुरु गरिनेछ। उनका अनुसार पानीधाराको पहिरो हटाएपछि काठमाडौं जाने सडक पूर्ण रूपमा खुल्नेछ।
तर सडक खुलेपछि पनि कृष्णभिर क्षेत्रको सडकको अवस्था हेरेर मात्रै सवारीसाधन सञ्चालन गर्ने वा नगर्ने निर्णय गरिने प्रहरीले जनाएको छ।
यस्तै, अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोरअन्तर्गत मूलघाट–फिदिम, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुबाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा समेत पहिरो खसेका छन्।
ती सडकखण्डमा पनि पहिरो हटाउने तथा आवश्यक स्थानमा डाइभर्सन निर्माण गरेर सवारी आवागमन सञ्चालन गर्ने प्रयास भइरहेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन्।








