काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंसँग जोडिएका तीन प्रमुख राजमार्ग बन्द भएका छन् । पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा पहिरो खसेपछि बिहानैदेखि यातायात प्रभावित भएको हो।
वर्षा नरोकिएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले ती सडकमा सवारी सञ्चालनमा रोक लगाएका छन्। जसका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्।
यसबीच त्रिभुवन राजपथ भने एकतर्फी सञ्चालनमा छ। हेटौँडा–भीमफेदी–नौबिसे हुँदै काठमाडौं जोड्ने यो सडकबाट मकवानपुरतर्फबाट काठमाडौं आउने सवारीलाई मात्र सञ्चालन गर्न दिइएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार काठमाडौंका लागि आवश्यक खाद्यान्न तथा इन्धनलगायत अत्यावश्यक सामग्री भित्र्याउन सहज होस् भनेर त्रिभुवन राजपथ एकतर्फी खुला राखिएको हो।
यद्यपि, काठमाडौं हुँदै मकवानपुरतर्फ जाने सवारीलाई भने यो मार्ग प्रयोग गर्न दिइएको छैन।
साना सवारीका लागि भने हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खुला छन्। यी सडकमा ठूला मालवाहक सवारी सञ्चालन गर्न भने मिल्दैन। रातिको समयमा यी वैकल्पिक सडकमा समेत सवारी सञ्चालनमा रोक लगाइने गरिएको छ।
त्यस्तै, टोखा–छहरे र साँखु हुँदै काठमाडौं आउने–जाने बाटो पनि साना सवारीका लागि खुला रहेको ट्राफिक प्रहरीले जनाएको छ।
हालको अवस्थाअनुसार काठमाडौं जोड्ने मुख्य सडकमध्ये पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ पूर्ण रूपमा बन्द छन् भने अत्यावश्यक सामग्री ढुवानीका लागि त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा रहेको छ।








