काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरोको जोखिम बढेपछि मुख्य राजमार्गहरू प्रभावित बनेका छन् भने धेरै स्थानीय तहले विद्यालयहरु बन्दको निर्णय गरेका छन् ।
वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कायालय पाल्पाका अनुसार ढुंगासहित पहिरो झरेपछि सडक पूर्णरूपमा बन्द भएको हो ।
वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्गसहित जिल्लाका जोखिमयुक्त सडकमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रशासनले बिहीबार साँझ ७ बजेदेखि असोज ११ गते बिहानसम्म हरेक दिन राति ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, मेची करिडोर तथा अन्य जोखिमयुक्त सडकमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो ।
नेपाल प्रहरीद्वारा जारी पछिल्लो तथ्यांक अनुसार बिहीबार बिहान ८ः३० बजेसम्म कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरूमा पूर्ण तथा आंशिक रूपमा आवतजावत अवरुद्ध भएको छ ।
कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सिद्धिचरण लोकमार्ग लगायत अन्य भित्री सडकहरूमा असोज १२ गतेसम्म भारी वर्षाको अनुमान गरिएको छ । यसै जोखिमलाई ध्यानमा राख्दै सोलुखुम्बु क्षेत्रमा बेलुकी ६ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधन र पैदल यात्रुहरूलाई यात्रामा पूर्ण रोक लगाइएको छ ।
बागमती प्रदेशअन्तर्गत काभ्रे जिल्लाको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी चल्ने वि.पि. राजमार्गमा अर्को सूचना नभएसम्म १० टनसम्मका मालवाहक सवारी साधन साँझ १९ः०० देखि बिहान ०५ः०० बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । त्यसैगरी बिहान ०४ः०० बजेदेखि साँझ १८ः०० बजेसम्म निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रहने छन् ।
नुवाकोटको टोखा छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी र पहिरोको कारण राति २२ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटकै पसाङ ल्हामु सडक खण्डको विदुर नगरपालिका–१० सिमटारमा बाढी आएकाले सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । रसुवा जिल्लाका मुख्य राजमार्गहरू पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।
धादिङ जिल्लाको पृथ्वीलोकमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र बेनिघाट रोराङ–०७ कृष्ण भिरमा पहिरो खसेकाले सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । मकवानपुरको कान्तिराजमार्गअन्तर्गत भैँसे–भिमफेदी–देउराली–कुलेखानी सडक खण्डमा सम्भावित पहिरोको जोखिमका कारण असोज ०९ गते बेलुका १९ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म रातिको समयमा पूर्ण रूपमा यात्रामा रोक लगाइएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सालझण्डी–ढोरपाटन सडक खण्डको पाणिनी गाउँपालिका–२ ढुङग्रेखोला नजिक (दमार र घोलीको बिच) पहिरो खसेकाले सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ । पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ डामसाइटमा पहिरो खसे पनि सडकलाई एकतर्फी रूपमा सुचारु गराइएको छ ।
शिक्षा क्षेत्रमा कहाँ–कहाँ बिदा दिइयो?
बुधबार नै शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित विपद्लाई ध्यानमा राख्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको थियो ।
मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पठाएको पत्रमा असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाइएको थियो ।
त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ देखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न आग्रह गरेको थियो ।
जसअनुसार निरन्तरको वर्षा हुन थालेपछि सुनसरीको इटहरी उपमहानगर र मोरङको विराटनगर महानगरले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
जल तथा मौसम पूर्व अनुमान विभागले आजबाट निरन्तर ठूलो पानी पर्ने सूचना जारी गरेपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो । विराटनगर महानगरपालिकाले असोज ८ र ९ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
यसैगरी इटहरी उपमहानगरपालिकाले पनि दुई दिन विद्यालयमा छुट्टी गरेको छ । गएरातिबाट पानी पर्न थालेपछि विद्यालयमा बिदा गर्ने निर्णय भएको इटहरी उपमहानगले जनाएको छ ।
सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ ।
मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ ।
काभ्रेपलाञ्चोकका चार स्थानीय तहले असोज ८ र ९ गते सबै विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख सविता दंगालका अनुसार बनेपा, बेथानचोक, मण्डनदेउपुर र रोशी गाउँपालिकाले वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै आफ्ना क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
उनका अनुसार धुलिखेल, पनौती, खानिखोला, तेमाल, नमोबुद्ध, पाँचखाल र चौँरीदेउरालीमा भने सबै विद्यालय बन्द नगरी जोखिमयुक्त विद्यालयलाई आवश्यकताअनुसार बन्द गर्ने अधिकार सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई दिइएको छ ।
मकवानपुरमा सम्भावित वर्षाको जोखिमका कारण यहाँका दुई पालिकाले दुई दिन विद्यालयलाई बिदा दिएका छन् । सम्भावित बाढीपहिरोलाई मध्यनजर गर्दै मकवानपुरको राक्सिराङ र ईन्द्रसरोवर गाउँपालिकाले बिहीबार र शुक्रबार पालिका भरीका स्कुललाई बिदा दिएको हो । विकट राक्सिराङ गाउँपालिकाका विद्यार्थी र शिक्षकहरु विभिन्न खहरे र खोलाहरु तरेर स्कुल आउनुपर्ने भएकाले जोखिम न्यूनीकरण गर्न दुई दिन विद्यालय बन्द गरिएको हो ।
यसैगरी ईन्द्रसरोबर गाउँपालिकाले पनि बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने सार्वजनिक सूचना जारी गरेको छ । ईन्द्रसरोवर गाउँपालिका विद्यार्थी र शिक्षकहरु खोल्सी, खहरे र खोला तरेर स्क्लु आउनुपर्ने भएकाले दुई दिन स्कुल बन्द गरिएको हो ।







