काठमाडौं । कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डबीचको सहकार्यलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले एआईमा आधारित प्लेटफर्म ‘इनमार्क’ (Inmark.ai) औपचारिक रूपमा सञ्चालनमा आएको छ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको इनमार्कलाई क्रिएटर इकोनोमी र डिजिटल मार्केटिङ व्यवस्थापनका लागि ‘अल-इन-वन अपरेटिङ सिस्टम’का रूपमा प्रस्तुत गरिएको छ।

ADVERTISEMENT

विश्वव्यापी रूपमा ४०० अर्ब डलरभन्दा बढी आकारमा विस्तार भइसकेको क्रिएटर इकोनोमी अझै पनि धेरै हदसम्म म्यानुअल प्रक्रियामा निर्भर रहेको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

क्रिएटरहरूले स्पोन्सरसिपका लागि सामाजिक सञ्जालमा म्यासेज गर्ने, व्यक्तिगत पहुँच खोज्ने तथा पारिश्रमिकमा मोलमोलाइ गर्नुपर्ने अवस्था छ। अर्कोतर्फ, ब्रान्डहरूलाई आफ्नो उत्पादन र लक्षित दर्शकसँग मेल खाने क्रिएटर पहिचान गर्न तथा ठूलो संख्यामा क्रिएटरसँग समन्वय गर्न कठिन हुने गरेको छ।

इनमार्कले डेटा र एआई इन्टेलिजेन्सको प्रयोग गरी क्रिएटर र ब्रान्डलाई प्रत्यक्ष जोड्ने कम्पनीको दाबी छ। प्लेटफर्ममा आबद्ध भएपछि क्रिएटरको कन्टेन्ट शैली, विगतका क्याम्पेन र दर्शकको विश्लेषण गरी उपयुक्त ब्रान्डसँग प्रोफाइल मिलान गरिनेछ।

ADVERTISEMENT

यसका साथै स्क्रिप्ट लेखन, कन्टेन्ट अप्टिमाइजेसन, एसईओ र स्वचालित रिपोर्टिङमा समेत एआईले सहयोग गर्ने व्यवस्था गरिएको छ। मूल्य निर्धारण, सम्झौताका सर्त तथा कन्टेन्टको बौद्धिक स्वामित्वसम्बन्धी विवरण प्लेटफर्ममै व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ।

ब्रान्ड तथा मार्केटिङ एजेन्सीका लागि पनि प्लेटफर्मले क्याम्पेन व्यवस्थापन सहज बनाउने बताइएको छ। भिडियो वा भ्वाइस नोटमार्फत दिएको जानकारीका आधारमा एआईले क्याम्पेन ब्रिफ तथा ह्यासट्याग तयार पार्न सक्नेछ।

त्यस्तै, ‘एआई फिट स्कोर’ का आधारमा ब्रान्डको बजेट र लक्षित दर्शकसँग मेल खाने क्रिएटर सिफारिस गरिनेछ। सयौँ वा हजारौँ क्रिएटरबाट तयार भएका भिडियोहरू निर्धारित ब्रिफ र स्क्रिप्टअनुसार छन् वा छैनन् भन्ने पनि एआईमार्फत एकैपटक अडिट गर्न सकिने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यसले ब्रान्डलाई सही दर्शकसम्म पुग्न तथा विज्ञापनमा गरिएको लगानीको प्रतिफल (ROI) मापन गर्न सहयोग गर्नेछ।

क्रिएटर र ब्रान्ड दुवैले सामाजिक सञ्जाल अकाउन्टमार्फत ‘वान-क्लिक’ लगइन गरी Inmark.ai प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।