कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ।
विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने भएपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार तथा सम्पूर्ण तयारी पूरा भएको छ। फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ।
विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको छ। दुबईबाट पोखरा आउने तथा पोखराबाट दुबई जाने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारीसमेत गरेका छन्।
विमानस्थलका अनुसार अध्यागमन, भन्सार, कार्गो लगायतका सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापन पूरा भइसकेको छ। यसअघि केही वायुसेवा कम्पनीले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वव्यापी हवाई ट्रान्जिट हब भएकाले फ्लाई दुबईको नियमित उडानले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।
फ्लाई दुबईले दुबईबाट विश्वका विभिन्न गन्तव्यमा उडान गर्ने भएकाले पोखराबाट दुबई हुँदै अन्य मुलुकमा जाने यात्रुलाई समेत सहज हुने पर्यटन व्यवसायीको अपेक्षा छ।
यस्तै, पोखरा विमानस्थल भन्सार कार्यालयले पनि राजस्व सङ्कलन, यात्रुको जाँचपास तथा निकासी–पैठारीका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ।
अन्तर्राष्ट्रिय उडानलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षणसमेत गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार विमानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ।






