काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। काठमाडौं प्रहरी परिसरका अनुसार मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ हुन्।
प्रहरीका अनुसार घटनाका क्रममा अर्जुनले दावा लामाको नाममा रहेको सवारी चालक अनुमतिपत्र प्रयोग गरेको पाइएको छ। प्रारम्भिक अनुसन्धानमा उनले दावा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरेको हुन सक्ने तथ्य खुलेको प्रहरीले जनाएको छ।
यसअघि २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा समेत अर्जुन संलग्न रहेको र त्यसबेला सुनील तामाङको नाममा जारी लाइसेन्स प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ।
यस्तै, करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार भएको घटनामा पनि उनले दावा तामाङको नाममा जारी लाइसेन्स प्रयोग गरेको पाइएको प्रहरीको भनाइ छ।
त्रिपुरेश्वरमा सोमबार बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका थिए। उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो र उपचारका क्रममा मृत्यु भएको थियो।
प्रहरीले अर्जुनले अन्य व्यक्तिका परिचयपत्र तथा कागजातसमेत प्रयोग गरेको हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






