पाख्रीबास (धनकुटा), असोज ४ गते । धनकुटामा आइतबार बिहान सुमो गाडी दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। छथर जोरपाटी गाउँपालिका–३, बन्चरेस्थित कामिटारमा बिहान करिब ९ बजे दुर्घटना भएको हो। पिङ्गडाँडा–ताङ्खुवाबाट धरानतर्फ जाँदै गरेको को १ ज २४९४ नम्बरको सुमो ब्रेक फेल भएपछि अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा छथर जोरपाटी गाउँपालिका–३ की करिब ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो।

ADVERTISEMENT

दुर्घटनामा सुमो चालक धनकुटा नगरपालिका–९, गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्रीसहित १० जना घाइते भएका छन्। घाइते हुनेमा छथर जोरपाटी–३ का धनमाया राई, ७ वर्षीय न्युहाङ सुब्बा, पुनम लिम्बू, २ वर्षीया आरध्या लिम्बू, आईन्द्र लिम्बू, भवानी लिम्बू, हेमबहादुर लिम्बू, अबिन लिम्बू र आषिश लिम्बू रहेका छन्।

ADVERTISEMENT

घाइते सबैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा पठाइएको प्रहरीले जनाएको छ। मृतक शोकमाया लिम्बूको शव जिल्ला अस्पताल धनकुटामा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम गर्ने तयारी भइरहेको डिएसपी भण्डारीले बताउनुभयो।

 

ADVERTISEMENT