काठमाडौँ । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ । त्यसअन्तर्गत आजदेखि वडा अधिवेशन प्रक्रिया सुरु भएको हो ।
निर्वाचन कार्यक्रमअन्तर्गत ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ ।
आज सम्पन्न वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । कांग्रेसले वडा अधिवेशन उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भोलि असोज ४ गते पनि जारी रहनेछ ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका छ । त्यसअघि वडा तह हुँदै क्षेत्रीय र जिल्ला तहका अधिवेशन सम्पन्न गरिनेछ ।






