काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) को पूर्वी सहर बुकाभुका दुईवटा विद्यालयमा आगलागी हुँदा कम्तीमा २४ जना बालबालिकाको मृत्यु भएको छ।
बीबीसीका अनुसार, आगलागीपछि ज्यान जोगाउन भाग्ने क्रममा भागदौड मच्चिँदा उक्त मानवीय क्षति भएको हो। हाल विद्रोहीहरूको कब्जामा रहेको उक्त सहरका स्थानीय अधिकारीहरूले घटनामा केही वयस्कहरूको पनि ज्यान गएको जानकारी दिएका छन्। बाक्लो बस्ती रहेको कादूतू समुदायमा आगलागी भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।
घाइते र घटनाबाट बचेकाहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ। बीबीसीले उल्लेख गरेअनुसार, घटनास्थल र अस्पतालबाट प्राप्त भिडियोहरूमा बालबालिकाहरू अस्पतालको भुइँमा पीडाले छटपटाइरहेको देख्न सकिन्छ। यस्तै, सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा साना बालबालिकाहरू जमिनमा अचेत अवस्थामा लडिरहेको देखिएको छ।
यस आगलागीमा परी करिब ३०० घर जलेर नष्ट भएका छन्। आगलागीको मुख्य कारण भने अहिलेसम्म खुल्न सकेको छैन। विद्रोहीद्वारा नियुक्त अधिकारीहरूले बिहीबार साँझ २४ जनाको मृत्यु भएको पुष्टि गर्दै पहिले सार्वजनिक भएका विवरणहरूलाई प्रमाणित गरेका छन्। यद्यपि, मृतकको सङ्ख्या योभन्दा बढी हुन सक्ने उनीहरूले बताएका छन्।
समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै एक प्रत्यक्षदर्शीले बताएअनुसार, दिउँसोसम्ममा आगो नियन्त्रणमा आइसकेको थियो, तर जस्तापाता र भग्नावशेषबाट धुवाँ भने उडिरहेको थियो।
दक्षिण किभु प्रान्तको राजधानी बुकाभु पहाडी इलाकामा अवस्थित छ। यो कंगोकै सबैभन्दा धेरै जनघनत्व भएका सहरहरूमध्ये एक मानिन्छ। गत वर्षको फेब्रुअरीमा एम२३ विद्रोही समूहले यस सहरलाई आफ्नो नियन्त्रणमा लिएको थियो।






