काठमाडौं । शिक्षा विभागले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा बाढीका कारण विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठनपाठन सुरु गर्नुअघि उनीहरूको अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ।

ADVERTISEMENT

विभागले विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ। आवश्यकता देखिएमा विद्यार्थीलाई मनोसामाजिक परामर्श र आवश्यक सहयोग उपलब्ध गराई उनीहरू नियमित कक्षाका लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागले जनाएको छ।

ADVERTISEMENT

विद्यार्थीको अवस्था अनुकूल भएपछि मात्रै नियमित पठनपाठन सञ्चालनको व्यवस्था मिलाउन विभागले आग्रह गरेको छ। बाढीका कारण विद्यार्थीको सिकाइमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न विद्यालयलाई सुरक्षित तथा बालमैत्री वातावरणमा सञ्चालन गर्नसमेत विभागले निर्देशन दिएको छ।

विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायबीच आवश्यक समन्वय गरी प्रभावित विद्यार्थीको शैक्षिक र मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

ADVERTISEMENT