काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी बाढीपछि हराएका सुनचाँदी, नगद, धनमाल तथा महत्त्वपूर्ण कागजात फेला परेमा आफूसँग नराख्न र बिक्री-वितरण नगर्न आग्रह गरेको छ ।
आइतबार एक भिडियो जारी गर्दै प्रहरीले फेला परेको सामान नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो ।
प्रहरीका अनुसार बाढीका कारण धेरै सर्वसाधारणका सुनचाँदी, नगद, एटीएम, चेकबुक, नागरिकता, राहदानीलगायत महत्त्वपूर्ण कागजात तथा धनमाल हराएका छन् ।
फेला परेको धनमाल वा कागजात आफूखुसी प्रयोग गर्ने, लुकाउने, आफूसँग राख्ने वा खरिद-बिक्री गर्ने कार्य मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कसूर हुने प्रहरीले बताएको छ । त्यस्तो कार्यमा संलग्नमाथि कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ ।
हराएको धनमाल वा कागजातबारे कुनै सूचना भए तत्काल प्रहरीलाई खबर गर्न र फेला परेको सामान वास्तविक हकदारलाई फिर्ता गर्न सहयोग गर्न प्रहरीले आग्रह गरेको छ । सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने प्रहरीले जनाएको छ ।






