काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा आगलागी भएको छ। गएराति भएको आगलागीमा प्रयोगविहीन तथा काम नलाग्ने प्रकृतिका कागजात र कानुनसम्बन्धी पत्रिकाका प्रति जलेका छन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आगलागी भएको जानकारी पाएपछि सुरक्षाकर्मी र अदालतका कर्मचारीले दमकल बोलाएर आगो नियन्त्रणमा लिएका थिए।

ADVERTISEMENT

कर्मचारीहरूले प्रारम्भिक रूपमा विद्युत्को प्लग सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेका छन्। आगलागीबाट विचाराधीन मुद्दाका कागजातमा कुनै क्षति नभएको अदालत प्रशासनले जनाएको छ।

ADVERTISEMENT

प्रवक्ता कोइरालाका अनुसार आगो अभिलेख शाखा रहेको कोठाभन्दा बाहिर फैलिएको छैन। निर्माणाधीन अभिलेख शाखामा काम नलाग्ने तथा प्रयोगविहीन फाइल र कागजात मात्र राखिएको थियो।

अदालतका फैसला भइसकेका मुद्दाका कागजात सुरक्षित राख्न अभिलेख शाखा प्रयोग गरिन्छ। निश्चित समयपछि आवश्यकताअनुसार पुराना मिसिल नष्ट गरी फैसलाहरू मात्रै सुरक्षित राख्ने व्यवस्था रहेको अदालतले जनाएको छ।

ADVERTISEMENT

गत भदौ २४ गतेको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवनबाट काम सञ्चालन गर्दै आएको छ। हाल निर्माणाधीन भवनको एक भागमा इजलास र प्रशासनसमेत सारिएको छ।