काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहनेछ ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । त्यसपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीलाई उक्त लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधिको प्रयोग तथा उत्कृष्ट ग्राहक सेवाका माध्यमबाट बैंकिङ क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको जनाएको छ । बैंकले पछिल्लो समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गर्दै आएको छ ।
बैंकका अनुसार ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरिसकेको छ । त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स तथा अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको जनाएको छ ।
बैंकले देशका ७७ वटै जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । हाल बैंकका ३४१ शाखा कार्यालय, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा रहेका छन् ।
बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । यसबाट बैंकको देशव्यापी पहुँच थप विस्तार भएको बैंकको दाबी छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले अमेरिका, बेलायत, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । बैंकले रेमिट्यान्समार्फत नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ ।
बैंकले प्रविधिमैत्री बैंकिङ सेवा, विस्तारित शाखा सञ्जाल तथा ग्राहक सेवामार्फत आफ्नो व्यवसाय विस्तार गर्दै आएको अवस्थामा शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश स्वीकृत भएमा शेयरधनीले ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।






