काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवलाई सरकारले अस्थायी रूपमा गाडेर व्यवस्थापन गरेको छ। शव गाड्नुअघि स्वास्थ्य टोलीले प्रत्येक मृतकको डीएनए नमुना संकलन गरी सुरक्षित राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार पत्रकार सम्मेलनमा आवश्यक परे परिवारको पहिचान तथा धार्मिक संस्कारका लागि अस्थायी रूपमा गाडिएका शव उत्खनन गर्न अनुमति दिइने जानकारी दिनुभयो।
उहाँका अनुसार शव व्यवस्थापनका क्रममा सरकारले तय गरेका मापदण्ड तथा निर्देशिकाको पालना गरिएको छ। हालसम्म प्रभावित क्षेत्रबाट ९०३ वटा शव निकालिएको र करिब ४ हजार २०० जना अझै बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। उद्धार गरिएकामध्ये ३२३ जना विदेशी नागरिकसहित १० हजारभन्दा बढी व्यक्ति रहेका छन्। त्यस्तै, उपलब्ध तथ्यांकअनुसार ३८ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीन छन्।
शव पहिचान तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत परिचालन गरिएको छ। भारतबाट डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको १८ सदस्यीय फोरेन्सिक टोली अगस्ट २९ देखि नेपालमा आएर काम गरिरहेको छ।त्यस्तै, सिंगापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोली परिचालन गर्ने विषयमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।शव व्यवस्थापनका लागि नेपालले एयर–टाइट ब्यागसमेत प्राप्त गरेको र थप आवश्यक सामग्री आउने क्रममा रहेको प्रवक्ता पौडेल क्षेत्रीले बताउनुभयो।
सरकारले बेपत्ता व्यक्तिको खोजी, उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ। भारतबाट आएको विशेष प्राविधिक टोली मैलुङ, चिलिमे र स्याफ्रुबेँसी क्षेत्रमा परिचालित छ।चीनबाट आएको टोली माथिल्लो त्रिशूली–३ ‘ए’ को लुकु क्षेत्रमा तथा दक्षिण कोरियाको टोलीसमेत प्रभावित क्षेत्रमा खटिएको मन्त्रालयले जनाएको छ।प्रवक्ता पौडेल क्षेत्रीले विपद्सम्बन्धी सूचनामा आधिकारिक तथा प्रमाणित तथ्यांकलाई मात्र आधार बनाउन सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। उद्धार तथा खोजी कार्य अघि बढ्दै जाँदा थप प्रमाणित तथ्यांक मन्त्रालयको आधिकारिक माध्यमबाट सार्वजनिक गरिने उहाँले बताउनुभयो।
सरकारका अनुसार प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता जारी छ। भारत, चीन, संयुक्त अरब इमिरेट्सलगायत देशबाट टेन्ट, कम्बल, स्लिपिङ ब्याग, खाद्यान्न, औषधि, जेनेरेटर, फ्रिजर, सोलार बत्ती तथा डीएनए परीक्षण किटलगायत सामग्री प्राप्त भएका छन्। पुनःस्थापना तथा पुनर्निर्माणका लागि क्षति र आवश्यकताको प्रारम्भिक मूल्यांकन भइरहेको तथा विस्तृत विपद्पश्चात् आवश्यकता मूल्यांकन गर्ने तयारीसमेत भइरहेको मन्त्रालयले जनाएको छ।






