काठमाडौं । जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ । प्रदेश राजधानी जनकपुरमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

मुख्यमन्त्री सतिश सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताएका छन् । सांसदहरूले सरकारमा नबस्न सुझाव दिएबमोजिम बैठकले निर्णय गरेको हो । कांग्रेसका मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने तयारी भइरहेको उनले बताए ।

मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा सहभागी भएको १६ महिनापछि सरकारबाट कांग्रेस बाहिरिएको हो । यसअघि जनमत पार्टीले पनि आफ्नै नेतृत्वको सरकार ढाल्दै समर्थन फिर्ता लिइसकेको छ ।

ADVERTISEMENT

चार दलीय गठबन्धनको सरकारबाट दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा अब एमाले र लोसपा मात्रै सहभागी छन् । पहिलेको सहमतिअनुसार कांग्रेस नेतृत्वमा सरकार बनाउने भन्ने थियो ।

ADVERTISEMENT

जेनजी आन्दोलनका बेला सिंहले फेसबुकमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिएनन् । पछि आफूले गरेको घोषणा फिर्ता लिँदै मुख्यमन्त्रीकै कुर्सीमा बसेपछि उनको आफ्नै पार्टीले दिएको समर्थन फिर्ता लिएको थियो ।

ADVERTISEMENT