नेपालको कार बजारमा पछिल्लो दुई वर्षयता ‘प्राइस वार’ अर्थात् मूल्य प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। विशेषगरी विद्युतीय कारको बजार विस्तारसँगै चिनियाँ ब्रान्डबीच कम मूल्यमा बढी फिचर दिने होड बढेपछि कम्पनीहरूले आफ्ना मोडलको मूल्य घटाउने रणनीति अपनाउन थालेका छन्।
सन् २०२४ को नाडा अटो शोदेखि चर्चामा आएको यस्तो मूल्य प्रतिस्पर्धा अहिले नेपाली अटो बजारको महत्वपूर्ण प्रवृत्ति बनेको छ। नयाँ प्रविधि, आकर्षक फिचर र प्रतिस्पर्धी मूल्यसहित नयाँ ब्रान्ड तथा मोडल थपिँदै जाँदा ग्राहकले पहिलेभन्दा कम बजेटमै सुविधासम्पन्न कार खरिद गर्न पाउने अवस्था बनेको छ।
केही वर्षअघि ३० लाख रुपैयाँ बजेट लिएर कार किन्न जाने ग्राहकले ४० लाख रुपैयाँसम्मको कार बुक गर्नुपर्ने अवस्था थियो। अहिले भने त्यही बजेटमा २६–२७ लाख रुपैयाँमै आकर्षक फिचरसहितका विद्युतीय कार उपलब्ध हुन थालेका छन्।
कम्पनीहरूले नगद छुट, एक्सचेन्ज बोनस तथा आकर्षक फाइनान्सिङ योजनामार्फत समेत कारको प्रभावकारी मूल्य घटाइरहेका छन्। यसको प्रत्यक्ष लाभ नयाँ ग्राहकले पाए पनि पुराना कारधनी भने प्रभावित हुन थालेका छन्।
उदाहरणका लागि, ५० लाख रुपैयाँमा खरिद गरिएको कार केही महिनामै ४५ लाख रुपैयाँमा बिक्री हुन थालेमा त्यसको पुनर्बिक्री मूल्य घट्ने जोखिम हुन्छ। विशेषगरी विद्युतीय सवारीको रिसेल बजारमा मूल्य प्रतिस्पर्धाको प्रभाव देखिन थालेको छ।
लगातार मूल्य घट्दा कम्पनीहरूको नाफा मार्जिन, डिलर तथा सर्भिस सेन्टरको आम्दानी र स्पेयर पार्ट्स व्यवस्थापनमा समेत दबाब पर्न सक्छ। सानो नेपाली बजारमा कुनै ब्रान्ड दीर्घकालीन रूपमा टिक्न नसके त्यसको असर उपभोक्तामै पर्न सक्ने भएकाले कार किन्दा मूल्यसँगै ब्रान्डको भविष्य, वारेन्टी, सर्भिस नेटवर्क, स्पेयर पार्ट्स र रिसेल मूल्यसमेत हेर्नुपर्ने अवस्था आएको छ।








