काठमाडौं । स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला ‘एचपी प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ को १८औँ संस्करण आयोजना गर्ने भएको छ।

आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी परिसरमा हुन गइरहेको यो भव्य अटो शो सम्पूर्ण अटो, आयल एवं पार्टपुर्जा व्यवसायीहरूका लागि विशेष आकर्षण र व्यावसायिक प्रवर्द्धनको प्रभावकारी प्लेटफर्म बन्ने आयोजक नाडाले विश्वास लिएको छ।

यस वर्षको नाडा अटो शोमा साना र ठूला गरी कुल २०० वटा स्टलहरू रहनेछन्। प्रदर्शनीमा २२ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १६ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल र १२ वटा ब्राण्डका दुई पाङ्ग्रे सवारीसाधनको सहभागिता रहनेछ। यसका साथै आठवटा नेपाली उत्पादकहरूसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रस्तुत गर्नेछन्।

ADVERTISEMENT

देशभरका अटो व्यवसायीहरूमाझ मेलालाई लिएर उत्साहजनक माहोल बनेकाले हालसम्म पनि स्टलका लागि अत्यधिक माग भइरहेको छ। तर प्रदर्शनी स्थलमा उचित ठाउँको अभावका कारण इच्छुक सबै व्यवसायीहरूलाई स्टल उपलब्ध गराउन अप्ठ्यारो परिरहेको आयोजकले जनाएको छ।

ADVERTISEMENT

स्वदेशी उत्पादनका साथै अन्तर्राष्ट्रिय ब्राण्डहरूको सहभागिता रहने यो अटो शोले सुस्ताएको अटो बजारलाई पुन: चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।