काठमाडौं । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हल यतिबेला देशकै ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२५ ले रंगिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १७ औँ संस्करणको यो प्रदर्शनी यसपालि “गो फर मोर” भन्ने नारासहित भइरहेको छ ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती भन्छन्, “गो फर मोर भन्नुको अर्थ यहाँ आउनु भयो भने अरु भन्दा धेरै चिज पाउनुहुन्छ, धेरै नयाँ कुरा देख्नुहुन्छ ।”
सन् १९९८ देखि सुरु भएको नाडा अटो शो निरन्तर आकार र प्रभाव दुवैमा बढ्दै आएको छ । उप्रेतीका अनुसार हरेक संस्करणमा प्राविधिक रूपान्तरण दर्शकलाई देखाउने नै यस कार्यक्रमको उद्देश्य हो । “तपाईंले नै देखिरहनु भएको छ, गतिशीलतामा ठूलो परिवर्तन आएको छ । अहिले त उड्ने कार, रोबोटिक मोडलसम्म ल्याउन सकिरहेका छौं । भविष्य देखाउन सक्नु नै हाम्रो काम हो,” उनले भने ।
विश्वभरै झैँ नेपालमा पनि इलेक्ट्रिक भेहिकल ९ईभी० को आकर्षण बढ्दो छ । उप्रेतीका अनुसार यो केवल क्रेज मात्र नभई समयसँगै आउने आवश्यक रूपान्तरण हो । “समय बदलिँदैछ, हामीले त्यसलाई अपनाउनैपर्छ । ईभी प्रदूषणमैत्री छ, हामीसँग जलविद्युत उत्पादन गर्ने क्षमता छ । त्यसैले यो हाम्रो भविष्य हो,” उनले स्पष्ट पारे ।
दुईपाङ्ग्रे र स्कुटर सेग्मेन्टमा पनि युवाको आकर्षण देखिन्छ । उप्रेतीका अनुसार उनीहरूलाई मुख्यतया प्रति किलोमिटर लागत र इन्धन बचतले तान्छ ।
यसपटकको प्रदर्शनीमा विन्टेज मोटर शो पनि खास आकर्षण बनेको छ । मोरिस माइनर, बीटल, मिनी कुपर, टोयोटा आरटी४० जस्ता पुराना मोडल देख्दा दर्शकले ‘वाह, यस्तो पनि थियो१’ भन्दै रमाइलो अनुभूति गर्ने गरेको उप्रेतीले बताए । यद्यपि कुन गाडी कसको स्वामित्वमा हो भन्नेबारे उनले खुलाएनन् । “मानिसहरूलाई नोस्टाल्जिक बनाउँछ, पुराना राजा–महाराजाले चढेका गाडीहरूको सम्झना पनि दिलाउँछ,” उनले भने ।
दर्शकलाई यसपटक युनिट्री रोबोट्सको चार पाङ्ग्रे रोबोट र दीपलको फ्लाइङ कारले लोभ्याइरहेको छ । उप्रेतीले आफू पनि यी प्रविधिमै सबैभन्दा उत्साहित भएको बताए । “मानिसहरू आउँछन्, अवलोकन गर्छन्, अनि ‘ओहो, यहाँ त यस्तो सुविधा पनि रहेछ’ भन्छन् । यो नै हाम्रो उपलब्धि हो,” उनले भने ।
नेपालको अटो उद्योगलाई कसरी हेर्छ भन्ने प्रश्नमा उप्रेतीले स्पष्ट जवाफ दिए “परिवर्तन विस्तारै भए पनि अपनाउने क्षमता बढ्दै गएको छ । हाम्रो लक्ष्य छ, हरेक नेपालीको घरमा अटोमोबाइल पुग्नुपर्छ । हरेक नेपालीले चलाउन सक्ने, भौतिक पूर्वाधार सरकारले बनाइदिनुपर्छ । अनि मात्र देश समृद्ध हुन्छ ।”
नाडा अटो शोलाई नेपालकै अटो ट्रेन्ड्सको “ब्यारोमिटर” मानिन्छ । उप्रेतीका अनुसार उद्घाटन दिनमै १९ हजारभन्दा बढी दर्शकले भ्रमण गरेका छन् । “९८५ समाचार कभरेज अटोमोबाइलमै केन्द्रित छ, ३० मिलियन भ्युज आएको देखेँ । यसले नै यसको महत्त्व प्रमाणित गर्छ।,” उनले मुस्कुराउँदै भने ।
यस वर्ष १९ वटा फोर व्हीलर ब्रान्ड, १३ वटा लाइट कमर्शियल भेहिकल ब्रान्ड, ४ वटा दुईपाङ्ग्रे ब्रान्ड, र ३५ भन्दा बढी अटो पार्ट्स तथा वित्तीय सेवासम्बन्धी कम्पनी सहभागी छन् । झण्डै ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा करिब १ लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ ।
भृकुटीमण्डपमा सुरु भएको यो छ दिने महोत्सव केवल नयाँ गाडी हेर्ने अवसर मात्र होइन, नेपालको गतिशीलताको भविष्य बुझ्ने ‘विन्डो’ पनि हो । “गो फर मोर” भन्ने नारा जस्तै, यहाँ प्रवेश गर्ने हरेक दर्शकलाई अटोमोबाइल प्रविधिको भोलिको झलक भेटिन्छ ।








