काठमाडौं, भदौ १० गते । निष्क्रिय कर्जा अर्थात् एनपीएल (Non-Performing Loan) बढ्दै जाँदा नेपाली वाणिज्य बैंकहरूमा दबाब बढेको देखिएको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये आर्थिक वर्ष २०८२/८३ मा १३ बैंकको निष्क्रिय कर्जा अनुपात अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ।

उक्त अवधिमा सबैभन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकमा देखिएको छ। बैंकको एनपीएल अनुपात ०.४९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ०.३८ प्रतिशतभन्दा बढी हो। यस्तै, सबैभन्दा बढी निष्क्रिय कर्जा हिमालयन बैंकमा देखिएको छ। हिमालयन बैंकको एनपीएल ७.९६ प्रतिशत रहेको छ। यद्यपि अघिल्लो वर्ष यो अनुपात ७.९७ प्रतिशत थियो।

प्रभु बैंकको निष्क्रिय कर्जा एक वर्षमै उल्लेख्य बढेको देखिन्छ। बैंकको एनपीएल १.७६ प्रतिशतबाट बढेर ६.२१ प्रतिशत पुगेको छ। प्राइम कमर्सियल बैंकमा पनि ५.८१ प्रतिशतबाट बढेर ६.६९ प्रतिशत पुगेको छ।

ADVERTISEMENT

सिटिजन्स बैंक इन्टरनेशनलको एनपीएल ४.८९ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको छ भने लक्ष्मी सनराइज बैंकको ४.३५ प्रतिशतबाट बढेर ५.२३ प्रतिशत पुगेको छ। एनएमबी बैंकमा पनि यस्तो कर्जा ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ।

ADVERTISEMENT

त्यस्तै, कुमारी बैंकको एनपीएल ०.७४ प्रतिशतबाट बढेर १.९४ प्रतिशत पुगेको छ। सिद्धार्थ बैंकमा २.६२ प्रतिशतबाट बढेर ३.५३ प्रतिशत तथा कृषि विकास बैंकमा ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ।

ADVERTISEMENT

अर्कोतर्फ, केही बैंकले भने निष्क्रिय कर्जा घटाउन सफल भएका छन्। एनआईसी एसिया बैंकको एनपीएल १.९७ प्रतिशतबाट घटेर ०.५७ प्रतिशत पुगेको छ। नबिल बैंकमा ०.९५ प्रतिशतबाट घटेर ०.५८ प्रतिशत तथा ग्लोबल आईएमई बैंकमा १.२२ प्रतिशतबाट घटेर ०.५९ प्रतिशत कायम भएको छ।

नेपाल बैंक, नेपाल एसबीआई, सानिमा बैंकलगायतका बैंकमा पनि निष्क्रिय कर्जा अनुपात घटेको छ।

वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा

क्र.सं. बैंक आव २०८२/८३ आव २०८१/८२ परिवर्तन
स्ट्यान्डर्ड चार्टर्ड २.०३% १.४१% ▲ ०.६२
एनआईसी एशिया ०.५७% १.९७% ▼ १.४०
नेपाल इन्भेष्टमेन्ट मेगा १.५६% १.०९% ▲ ०.४७
नेपाल बैंक ४.१८% ४.५६% ▼ ०.३८
लक्ष्मी सनराइज ५.२३% ४.३५% ▲ ०.८८
प्रभु ६.२१% १.७६% ▲ ४.४५
प्राइम कमर्सियल ६.६९% ५.८१% ▲ ०.८८
माछापुच्छ्रे ३.९८% ३.९६% ▲ ०.०२
हिमालयन ७.९६% ७.९७% ▼ ०.०१
१० सिटिजन्स इन्टरनेशनल ५.८८% ४.८९% ▲ ०.९९
११ राष्ट्रिय वाणिज्य ३.९५% ३.७९% ▲ ०.१६
१२ नेपाल एसबीआई २.९२% ३.३५% ▼ ०.४३
१३ कुमारी १.९४% ०.७४% ▲ १.२०
१४ नबिल ०.५८% ०.९५% ▼ ०.३७
१५ कृषि विकास ४.०७% ३.४४% ▲ ०.६३
१६ ग्लोबल आईएमई ०.५९% १.२२% ▼ ०.६३
१७ एभरेष्ट ०.४९% ०.३८% ▲ ०.११
१८ सिद्धार्थ ३.५३% २.६२% ▲ ०.९१
१९ एनएमबी ४.९१% ४.११% ▲ ०.८०
२० सानिमा १.०२% १.२०% ▼ ०.१८

स्रोतः सम्बन्धित बैंकले प्रकाशित गरेको आव २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण।

समग्र तथ्यांकले बैंकिङ क्षेत्रमा खराब कर्जाको जोखिम समान रूपमा नरहेको देखाउँछ। केही बैंकले कर्जा असुली तथा जोखिम व्यवस्थापनमा सुधार गरेका छन् भने केही बैंकमा निष्क्रिय कर्जा उल्लेख्य बढेको छ। विशेषगरी प्रभु बैंक, प्राइम कमर्सियल, कुमारी र सिटिजन्स बैंकमा एनपीएल वृद्धिले कर्जा गुणस्तर व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको देखिन्छ।

निष्क्रिय कर्जा बढ्दा बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि थप प्रोभिजनिङ गर्नुपर्ने हुन्छ। यसले बैंकको नाफा, पुँजी पर्याप्तता तथा नयाँ कर्जा विस्तार गर्ने क्षमतामा समेत प्रभाव पार्न सक्छ। त्यसैले आगामी दिनमा बैंकहरूको वित्तीय स्वास्थ्य मूल्यांकन गर्दा नाफासँगै निष्क्रिय कर्जाको अवस्था पनि महत्वपूर्ण सूचक बन्ने देखिन्छ।