काठमाडौं, भदौ ८ गते । नेपाली कांग्रेसले महिला उद्यमशीलता प्रवर्धन तथा आर्थिक सशक्तीकरणका लागि ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ। सम्मेलन भदौ ११ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने भएको हो।
महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलताको विकास तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ। सम्मेलनमा उद्यमीबीच अनुभव आदानप्रदानसँगै लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र व्यावसायिक नेटवर्किङका विषयमा छलफल हुनेछ।
सम्मेलनसँगै कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत आयोजना गरिनेछ। प्रदर्शनीमार्फत उद्यमीले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता र सम्भावित साझेदारसमक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन्।
एकदिने सम्मेलनमा महिला उद्यमशीलताका चुनौती, सम्भावना र अवसरबारे तीनवटा विषयगत प्यानल छलफल आयोजना गरिनेछ। व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वले छलफलमा सहभागिता जनाउने कांग्रेसले जनाएको छ।
सम्मेलनको अर्को आकर्षण ‘मेरो उद्यमशील यात्रा’ सत्र रहनेछ। यसमा सफल महिला उद्यमीले आफ्नो संघर्ष, अनुभव, सफलता र सिकाइका कथा प्रस्तुत गर्नेछन्।
त्यस्तै, लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्रसमेत सञ्चालन गरिनेछ। बिहान ८ बजे सुरु हुने सम्मेलनमा १० हजारभन्दा बढी सहभागीले अवलोकन गर्ने अपेक्षा कांग्रेसले गरेको छ।






