काठमाडौं । नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि स्टल निर्माण तथा प्राविधिक तयारी तीव्र पारिएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको प्रदर्शनी नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुँदैछ। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्।

अटो शोमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा सवारीसाधन ब्रान्ड सहभागी हुने आयोजकले जनाएको छ। साथै, अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणका करिब ७० वटा स्टल रहनेछन्।

ADVERTISEMENT

प्रदर्शनीमा विद्युतीय सवारीसाधन, नयाँ अटोमोबाइल प्रविधि तथा मोबिलिटी क्षेत्रका नयाँ उत्पादन र सेवा मुख्य आकर्षणका रूपमा रहनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत उल्लेख्य सहभागिता रहनेछ।

ADVERTISEMENT

यस वर्षको विशेष आकर्षणका रूपमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ पभेलियन राखिने भएको छ। उक्त पभेलियनमा नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्ट प्रदर्शन गरिनेछ।

ADVERTISEMENT

हाल भृकुटीमण्डपमा स्टल निर्माणसँगै विद्युत् जडान, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक पूर्वाधार निर्माणको काम भइरहेको छ।

आयोजकका अनुसार नाडा अटो शोले उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर प्रदान गर्नेछ। प्रदर्शनीमार्फत नेपाली बजारमा भित्रिएका नयाँ प्रविधि र उत्पादनसँगै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका आगामी सम्भावनाबारे जानकारी लिन सकिने अपेक्षा गरिएको छ।