दाङ । काठमाडौंमा अध्ययनरत २२ वर्षीय छोरा वसन्त कालाथोकीको हत्या भएको खबर सुनेपछि दाङमा उनकी आमाको पनि मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–१७, जनप्रिय टोलकी ३८ वर्षीया बिना कालाथोकीको शनिबार दिउँसो घरमै मृत्यु भएको हो। काठमाडौं महानगरपालिका–१०, शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा बसेर अध्ययन गरिरहेका वसन्तको शुक्रबार कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
छोराको हत्या भएको खबर सुनेपछि बिनाको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार शनिबार दिउँसो करिब ३ बजे बिनाको मृत्यु भएको हो।
घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट चौघेराबाट प्रहरी सहायक हवल्दार अमर गैरेको कमान्डमा दुई जना तथा जिल्ला प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक एक्कबहादुर नेपालीको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरेपछि शनिबार साँझ करिब ४ बजे बिनाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पुर्याएको थियो। शव अहिले प्रतिष्ठानको शवगृहमा राखिएको छ।
घोराही–१७ का वडाध्यक्ष रामलौटन चौधरीका अनुसार बिनाका श्रीमान् रोमहर्ष कालाथोकी वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन्। उनी नेपाल फर्किएपछि मात्र बिनाको पोस्टमार्टम गरिने भएको छ। रोमहर्ष मलेसियाबाट नेपाल फर्कने तयारीमा रहेको वडाध्यक्ष चौधरीले बताए।
वडाध्यक्ष चौधरीका अनुसार वसन्तको हत्याको खबर बिनालाई एकाएक सुनाइएको थियो। छोराको मृत्युको खबर सुनेपछि उनी विक्षिप्त बनेकी थिइन्। घरमा एक्लै रहेका बेला बिनाको मृत्यु भएको बताइएको छ।
बिनाको मृत्युपछि उनका ११ वर्षीय कान्छा छोरा शिशिरलाई हजुरबुबाले आफ्नो घरमा लगेर राखेका छन्। श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला जेठो छोराको हत्या र त्यसको खबर सुनेपछि आमाको समेत मृत्यु भएपछि परिवारमा ठूलो वियोग परेको छ।









