काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ८ गते सोमबार विश्वासको मत लिने भएका छन्।

नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका थापाले यसअघि भदौ ७ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर, संशोधित पत्रमार्फत उनले भदौ ८ गतेका लागि विश्वासको मतको मिति तोकेका हुन्।

मुख्यमन्त्री थापाको संशोधित पत्रअनुसार प्रदेशसभा सचिवालयले भदौ ८ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेको छ। उक्त बैठकको मुख्य कार्यसूचीमा मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ।

ADVERTISEMENT

मुख्यमन्त्री थापाका अनुसार गृह जिल्ला जाने कार्यक्रम रहेकाले तथा अन्य दलको सुझावअनुसार विश्वासको मत लिने मिति सारिएको हो। आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर विश्वासको मतसम्बन्धी प्रक्रिया टुंग्याइने र सोमबार मत विभाजनसहितको प्रक्रिया अघि बढाइने तयारी छ।

ADVERTISEMENT

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि भदौ ३ गते दाबी पेस गरेका थापा भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

ADVERTISEMENT

१०४ सदस्यीय वागमती प्रदेशसभामा सरकार सञ्चालनका लागि बहुमत सिद्ध गर्न ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्रीको शपथ लिएसँगै थापाले ६ जना मन्त्री नियुक्त गरिसकेका छन्।

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री थापाको तयारी रहेको छ।