काठमाडौँ । जय नेपाल पार्टी(प्रस्तावित) को ऐतिहासिक प्रथम केन्द्रीय कार्यसमितिको बैठक सभापति डा. धवलशमशेर राणाको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भएको छ।
बैठकले पार्टीको सङ्गठन विस्तार, जनवर्गीय सङ्गठन निर्माण, संविधान संशोधनका लागि जनदबाब सिर्जना तथा राष्ट्रिय मुद्दाहरूमा अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ।
सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रलाई आधारशिला मानेर हिमाल, पहाड र तराईलाई एकताको सूत्रमा बाँध्दै स्थिर, समुन्नत र राष्ट्रहितमुखी नेपाल निर्माण गर्ने लक्ष्यसहित पार्टी जनतामाझ अघि बढेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकले भदौ र असोज महिनाभित्र देशका ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको छ। त्यसका लागि केन्द्रीय सदस्यहरू सम्मिलित टोली परिचालन गरिनेछ।
त्यस्तै, भदौ महिनाभित्र युवा, महिला तथा जेनजीसहित विभिन्न जनवर्गीय सङ्गठन, विभाग तथा समितिहरू केन्द्रीय तहमा गठन गर्ने निर्णय बैठकले गरेको छ।
पार्टीले संविधान निर्माणका क्रममा जनताबाट प्राप्त सुझावलाई पर्याप्त रूपमा सम्बोधन नगरिएको दाबी गर्दै संविधान संशोधनका क्रममा जनताको अभिमत समेट्न सरकारमाथि आवश्यक जनदबाब सिर्जना गर्ने जनाएको छ। यसै क्रममा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत निर्माण गर्न निकट भविष्यमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
बैठकले राष्ट्रिय जनावर गाईको संरक्षणलाई राष्ट्रिय दायित्वका रूपमा अघि बढाउने निर्णयसमेत गरेको छ। गौहत्या तथा गाईको मासुको खपतमा रोक लगाउन राज्य र सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यले भदौ महिनामा दबाबमूलक कार्यक्रम सञ्चालन गरिने पार्टीले जनाएको छ। अभियान तथा प्रदर्शनको नेतृत्व जनवर्गीय सङ्गठनहरूले गर्ने तथा सात वटै प्रदेशमा राज्यको तर्फबाट सुविधासम्पन्न गौशाला निर्माणका लागि जनमत सिर्जना गर्ने निर्णय पनि गरिएको छ।
पार्टी सदस्यता लिन सहज बनाउन भदौ महिनाभित्रै अनलाइन सदस्यता प्रणाली निर्माण गर्ने, पार्टीभित्र प्रशिक्षण सञ्चालनका लागि आवश्यक सामग्री तयार गर्न कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यताअनुरूप प्रवासमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार उपलब्ध गराउन सरकारमाथि दबाब सिर्जना गर्ने नीति पार्टीले लिएको छ।
यसैगरी, जय नेपाल पार्टीसँग विचार र उद्देश्य मिल्ने राजनीतिक दल, सङ्गठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीमा आबद्ध गराउन वार्ता समिति गठन गर्ने निर्णय गरिएको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य, लोकप्रिय तथा जनविश्वास प्राप्त नागरिकलाई सार्वजनिक रूपमा आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ।
पार्टीका नीति, विचार र लक्ष्यलाई आधार बनाएर स्थिर तथा समुन्नत नेपाल निर्माणको मार्गचित्र तयार गर्न छुट्टै कार्यदल गठन गर्ने निर्णय पनि भएको छ। उक्त प्रक्रियामा स्वदेश तथा विदेशमा रहेका विभिन्न विषयगत विज्ञ नेपालीहरूको सहयोग र परामर्श लिइने पार्टीले जनाएको छ।
बैठकपछि सभापति डा. धवलशमशेर राणाले देश र जनताको भावना, राष्ट्रिय एकता, स्थिरता र समुन्नतिको लक्ष्यलाई केन्द्रमा राखेर पार्टी अघि बढ्ने बताएका छन्। पार्टीले राष्ट्रप्रेमी नागरिक, युवा तथा आम नेपालीलाई साथ, सहयोग र समर्थनका लागि आह्वानसमेत गरेको छ।
बैठकका प्रमुख निर्णयहरू
७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने।
युवा, महिला तथा जेनजीसहित जनवर्गीय सङ्गठन र विभाग गठन गर्ने।
संविधान संशोधनमा जनताको अभिमत सम्बोधन गराउन दबाब सिर्जना गर्ने।
संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने।
गौसंरक्षणका लागि दबाबमूलक अभियान तथा कार्यक्रम सञ्चालन गर्ने।
सात प्रदेशमा सुविधासम्पन्न गौशाला निर्माणका लागि जनमत सिर्जना गर्ने।
अनलाइन पार्टी सदस्यता प्रणाली सञ्चालनमा ल्याउने।
पार्टी प्रशिक्षणका लागि आवश्यक सामग्री तयार गर्ने।
प्रवासी नेपालीलाई मतदानको अधिकार दिलाउन सरकारमाथि दबाब सिर्जना गर्ने।
समान विचारधारा भएका दल, सङ्गठन, अभियान र व्यक्तिलाई गोलबन्द गर्न वार्ता समिति गठन गर्ने।
आगामी स्थानीय तह निर्वाचनका लागि योग्य तथा लोकप्रिय उम्मेदवारलाई आह्वान गर्ने।
स्थिर र समुन्नत नेपाल निर्माणको मार्गचित्र तयार गर्ने।










