काठमाडौं । फोनपेले जीवीसँग साझेदारी गर्दै ‘चेकआउट बाई फोनपे’ सेवा जीवीमा एकीकृत गरेको छ । यससँगै जीवीबाट अनलाइन खरिद गर्ने ग्राहकले सामान खरिदका क्रममा फोनपेमार्फत अझ सहज र छिटो भुक्तानी गर्न सक्ने भएका छन् ।
नयाँ एकीकरणमार्फत जीवीमा सामान खरिद गर्दा भुक्तानीको समयमा ‘चेकआउट बाई फोनपे’ छनोट गरी सहभागी मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्न सकिनेछ ।
यसले सामान छनोटदेखि भुक्तानीसम्मको प्रक्रियालाई थप सरल र सुविधाजनक बनाउने कम्पनीले जनाएको छ । सेवा सुरुवातको अवसरमा फोनपे र जीवीले ग्राहकका लागि विशेष क्यासब्याक अफरसमेत ल्याएका छन् ।
अफरअन्तर्गत ग्राहकले २० प्रतिशतसम्म क्यासब्याक, अधिकतम ५०० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । यो अफर अगस्ट १८ देखि अगस्ट ३१, २०२६ सम्म लागू हुनेछ । अभियान अवधिभर प्रत्येक ग्राहकले अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले जीवीसँगको एकीकरणले अनलाइन किनमेल गर्ने ग्राहकलाई थप सरल र सहज भुक्तानी अनुभव प्रदान गर्ने बताए ।
उनले यो साझेदारी नेपालको बढ्दो विद्युतीय व्यापार क्षेत्रमा डिजिटल भुक्तानीलाई थप सहज र सुविधाजनक बनाउने फोनपेको निरन्तर प्रयासको महत्वपूर्ण कदम भएको बताए ।
जीवीसँगको एकीकरण नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने फोनपेको योजनाअन्तर्गत गरिएको कम्पनीले जनाएको छ । थप व्यापारी, वित्तीय संस्था तथा विद्युतीय व्यापारिक मञ्चमा ‘चेकआउट बाई फोनपे’ विस्तार गर्दै अनलाइन कारोबारलाई छिटो, सरल र सहज बनाउने लक्ष्य फोनपेको छ ।





