जनकपुरधाम । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनकपुरधाममा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अन्य प्रदेशको तुलनामा मधेसमा बढी बजेट विनियोजन गरिएको दाबी गरे ।

ADVERTISEMENT

उनले मधेस प्रदेशको विकास र यहाँका नागरिकको जीवनस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै पूर्वाधार विकासका कामलाई तीव्रता दिइने बताए ।

ADVERTISEMENT

कार्यक्रममा मन्त्री लम्सालले श्रमिकको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णयबारे पनि जानकारी गराए । उनका अनुसार आगामी मंसिरदेखि बेल्चा चलाउने श्रमिकले दैनिक १ हजार ७०० रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

‘यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ । अब उप्रान्त मंसिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ कमाउने छन्,’ उनले भने ।

हाल बेल्चा चलाउने श्रमिकले दैनिक ५०० रुपैयाँ मात्रै आम्दानी गरिरहेको उल्लेख गर्दै उनले पारिश्रमिक वृद्धिबाट मधेसका श्रमिक बढी लाभान्वित हुने दाबी गरे ।

यसैबीच, मन्त्री लम्सालले बिहीबार धनुषाका विभिन्न स्थानमा निर्माणाधीन पाँचवटा पुलको स्थलगत निरीक्षण गरेका छन् । उनले ढल्केबर–जनकपुरधाम सडकखण्डअन्तर्गत निर्माणाधीन बससी पुल, मिथिला बिहारी नगरपालिकास्थित कटरेत पुल, जालाद पुल सिर्सिया, इच्छापुरस्थित जालाद पुल तथा मिथिला सागर पुलको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा उनले आयोजनाको प्रगति, निर्माणको अवस्था र काममा देखिएका समस्याबारे जानकारी लिएका थिए । उनले स्थानीयवासी तथा निर्माण कम्पनीका प्रतिनिधिसँग पनि छलफल गरेका थिए ।

मन्त्री लम्सालले विकास निर्माणका आयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न र निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए ।