काठमाडौं । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको बैठकमा विश्वासको मत परीक्षण गर्न लागेका हुन्।
दुवै मुख्यमन्त्रीले विश्वासको मत लिन तयारी गरिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने कुनै पक्षमा नलाग्ने निर्णय गरेको छ। राप्रपाले बागमती र लुम्बिनी प्रदेशका आफ्ना प्रदेश सभा सदस्यलाई विश्वासको मतसम्बन्धी मतदानमा तटस्थ रहन निर्देशन दिएको हो।
प्रदेशमा सरकार गठनसँग सम्बन्धित विषयमा पार्टीले अर्को निर्णय नगरेसम्म संसदीय दलका नेतामार्फत आफ्ना सांसदलाई तटस्थ बस्न निर्देशन दिइएको राप्रपाले जनाएको छ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। नेकपाका २६ र नेकपा एमालेका २५ सांसद छन्। त्यस्तै, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।
बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। यस्तो अवस्थामा राप्रपाका १२ सांसदको भूमिका निर्णायक बन्न सक्ने देखिएको छ।
यता ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा पछिल्लो निर्वाचनमा उम्मेदवारी दिन चार सांसदले राजीनामा दिएपछि हाल ८३ सदस्य कायम छन्। हालको सदस्य संख्याका आधारमा सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक हुन्छ।
लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका २९ सांसद छन् भने नेकपाका सभामुखसहित १३ सांसद रहेका छन्। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुअघि प्रदेश सभामा आफ्नो पक्षमा आवश्यक समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
आजको मतदानले दुवै प्रदेश सरकारको राजनीतिक स्थायित्व र आगामी सत्ता समीकरणबारे समेत महत्वपूर्ण संकेत दिने देखिएको छ।





