काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरिएको छ। ग्यास वितरण सुरु हुनुअघि नै बिहानैदेखि सर्वसाधारण सिलिन्डर लिएर लाइनमा बसेका छन्।
नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा विभिन्न ग्यास उद्योगमार्फत ग्यास बिक्री गर्न लागेको हो।
ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ। निगमले अति आवश्यक भएका उपभोक्तालाई मात्र तोकिएको स्थान र समयमा उपस्थित भएर ग्यास खरिद गर्न अनुरोध गरेको छ।
ग्यास टेकुस्थित नेपाल आयल निगम परिसर, चावहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र बसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट वितरण गरिदैछ ।
विभिन्न बिक्री केन्द्रमा फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराइने निगमले जनाएको छ।











