काठमाडौं। तीन वर्षअघिसम्म खराब कर्जा, बढ्दो प्रोभिजनिङ र वित्तीय दबाबका कारण समस्यामा परेको कुमारी बैंक अहिले बलियो सुधारसहित लाभांश वितरण गर्ने अवस्थामा पुगेको छ। बैंकले गत आर्थिक वर्षमा ७ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष २ अर्ब रुपैयाँभन्दा कम नाफा गरेको बैंकका लागि यो छलाङ उल्लेखनीय हो।

नाफाका हिसाबले कुमारी बैंक नबिल बैंकपछि दोस्रो स्थानमा पुगेको छ। ग्लोबल आइएमई, एभरेस्ट र नेपाल एसबीआई बैंकजस्ता ठूला बैंकलाई समेत नाफामा पछाडि पार्नु कुमारीको पछिल्लो वित्तीय सुधारको महत्वपूर्ण संकेत हो।

ADVERTISEMENT

 पछिल्ला तीन वर्ष बैंकको मुख्य ध्यान नयाँ व्यापार विस्तारभन्दा पुरानो समस्याग्रस्त कर्जा उठाउने र वित्तीय आधार बलियो बनाउनेमा थियो। एनसीसी बैंकसँगको मर्जर, बढेको खराब कर्जा तथा व्यवस्थापनसम्बन्धी समस्याले बैंकलाई केही वर्ष दबाबमा पारेको थियो।

ADVERTISEMENT

तर, पछिल्लो वर्ष डुबेको ऋण उल्लेख्य रूपमा उठेको, नियमित आम्दानी बढेको र सञ्चालन खर्च घटेको बैंकको भनाइ छ। शाखा संख्या घटाएर बैंकिङ प्रणालीलाई अटोमेसनमा लैजाँदा खर्च नियन्त्रणमा समेत सहयोग पुगेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ६.४८ रुपैयाँबाट बढेर २८.१७ रुपैयाँ पुगेको छ। प्राथमिक पुँजीकोष ९.९२ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १३.५५ प्रतिशत पुगेको छ। यसले बैंकलाई आगामी दिनमा कर्जा विस्तारका लागि थप ठाउँसमेत दिएको छ।

ADVERTISEMENT

कुमारी बैंकको वितरणयोग्य नाफा ७१ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा ३ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक थियो। यस आधारमा बैंकको तत्कालीन लाभांश क्षमता करिब ३.०२ प्रतिशत देखिन्छ।

तर व्यवस्थापनले आगामी वर्षसम्म बैंकको लाभांश क्षमता अझ बढ्ने प्रक्षेपण गरेको छ। बैंकले यसै वर्षदेखि लाभांश वितरण गर्ने रणनीति बनाएको छ भने अर्को वर्षसम्म ८ देखि १० प्रतिशतसम्म लाभांश दिन सक्ने अवस्थामा पुग्ने अपेक्षा गरेको छ।

कुमारी बैंकले विगतमा नोक्सानी व्यवस्थापन गर्दा ठूलो कर भारसमेत बेहोरेको थियो। बैंकका अनुसार गत वर्षसम्म करिब २६ अर्ब रुपैयाँको नोक्सानी व्यवस्थापन गरिसकिएको छ। त्यससँग सम्बन्धित करसमेत तिरिसकेकाले आगामी दिनमा नाफा बढ्दा विगतको जस्तो करको दबाब नपर्ने बैंकको अपेक्षा छ।

यसपटक बैंकले ७ अर्ब ३ करोड रुपैयाँ नाफा गर्दा २ अर्ब १२ करोड रुपैयाँ कर तिरेको जनाएको छ। अघिल्ला वर्षमा नाफाको तुलनामा कर भार उच्च रहेको थियो।

बैंकसँग अहिले करिब ७ अर्ब रुपैयाँको डिबेन्चर छ, जुन २०८६ सालदेखि क्रमशः परिपक्व हुँदै जानेछ। त्यसका लागि आवश्यक रकम क्रमशः व्यवस्थापन हुँदै जाँदा भविष्यको वित्तीय दबाब पनि घट्दै जाने बैंकको बुझाइ छ।

कुमारी बैंकको पछिल्लो सुधारलाई केवल एक वर्षको नाफा वृद्धिका रूपमा मात्र हेर्नुभन्दा खराब कर्जा व्यवस्थापन, पुँजीकोष सुधार, लागत नियन्त्रण र नियमित आम्दानीमा भएको सुधारको संयुक्त परिणामका रूपमा हेर्नुपर्ने देखिन्छ। तीन वर्षसम्म कर्जा विस्तारमा संयम अपनाएर पुराना समस्या समाधान गरेको बैंक अब पुनः व्यापार विस्तारतर्फ फर्किने अवस्थामा पुगेको छ।

यसले कुमारी बैंकलाई आगामी वर्षमा नाफा मात्रै होइन, लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमतासमेत क्रमशः बढाउने आधार तयार गरेको छ। तर भविष्यको लाभांश र नाफा भने बैंकको कर्जा विस्तार, असुलीको गति, नियामकीय व्यवस्था र समग्र आर्थिक अवस्थामै निर्भर हुनेछ।