काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति गगन थापाले विशेष महाधिवेशन गरेर ठूलो गल्ती गरेको टिप्पणी गरेका छन्।
शुक्रबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले विशेष महाधिवेशनबाट सभापति चुनिएका थापालाई ‘सभापति’ भन्नसमेत आफूलाई मन नलागेको बताए।
विशेष महाधिवेशनलाई मान्यता दिन नसकिने र उक्त अधिवेशन अवैधानिक तथा अराजक ढंगले गरिएको सिटौलाको दाबी थियो। यो आफ्नो पक्षको राजनीतिक मान्यता भएको स्पष्ट गर्दै उनले थापाप्रति व्यक्तिगत पूर्वाग्रह नरहेको बताए।
सिटौलाले थापालाई आफ्नो निर्णय सच्याउन सुझाव दिँदै मानिसको जीवनमा गल्ती हुने र त्यसलाई स्वीकार गरेर सच्याउन सक्नु नै महानता भएको बताए।
सर्वोच्च अदालतले समेत गल्ती सच्याउने बाटो खुला गरिदिएको दाबी गर्दै सिटौलाले थापालाई आफैंले सुधारको बाटो खोज्न आग्रह गरे। ‘हठले, अहंकारले कहीँ पनि पुगिँदैन,’ सिटौलाले भने, ‘गल्ती सच्याउनुस्।’
उनले विशेष महाधिवेशनबाट घोषित अन्य पदाधिकारीबारे आफूले केही भन्न नचाहेको बताए। थापाले कसैसँग हारगुहार गर्नुभन्दा आफ्नै अन्तरआत्मालाई सोधेर निर्णय लिनुपर्ने सिटौलाको भनाइ थियो।
सिटौलाले विशेष महाधिवेशनमार्फत शेरबहादुर देउवालाई पार्टीबाट हटाइएको विषयमा समेत थापाले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।





