काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् ।

प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर बुधबार कमला पन्तलाई जिम्मेवारी दिएका हुन् ।

आङ्देम्बेले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन् । कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ ।

ADVERTISEMENT

नेता आङदेम्बेले प्रतिनिधिसभा दलको उपनेतामा अभिषेकप्रताप शाह, मुख्य सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरेको कांग्रेसले जनाएको छ ।

ADVERTISEMENT

सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् । कांग्रेस संस्थापन पक्षको विरोध गर्दै सिटौला गुट उपगुटमा लागेका थिए । उनले निरन्तर देउवा समूहको भेला र बैठक राख्न दबाब दिँदै आएपछि राष्ट्रिय सभा दलको नेताबाट हटाउने चर्चा दुई दिनदेखि चलेको थियो ।

सिटौला कांग्रेस विशेष महाधिवेशनको विरोधमा थिए । पन्त भने विशेष महाधिवेशनको पक्षमा थिइन् । सिटौलालाई दलको नेताबाट हटाएसँगै कांग्रेसमा किचलो झन् बढ्ने देखिएको छ ।