काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्।
आइतबार दरबारमार्थस्थित होटल यल्लो पगोडामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको बताएका हुन्। उनले सरकारले सन्तोषजनक काम नगरे पनि तत्काल अर्को सरकार वा गठबन्धन बन्ने सम्भावना नरहेको प्रष्ट पारे ।
‘जनताले सोचेअनुसार सरकारले काम गर्न सकेको छैन। सरकार पूरै कार्यकाल जान्छ। अर्को सरकार बन्ने विकल्प छैन। सम्झौताअनुसार सरकार जान्छ,’ उनले भने ।
नेता सिटौलाले संविधान संशोधन गर्न सरकारले कार्यदल बनाउनुपर्ने बताए। उनले संविधानबमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताए ।
सिटौलाले कांग्रेसको महाधिवेशन २०८३ को दशैँको सेरोफेरोमा हुने बताए। अहिलेसम्म कांग्रेस महाधिवेशन कहिल्यै पनि चार वर्षमा भएको रेकर्ड नभएको उल्लेख गर्दै ०८३ मा भने हुने बताए ।
उनले कांग्रेसले बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावले पार्टीमा क्षति पुग्ने बताए। बागमती सरकरका विषयमा सभापति शेरबहादुर देउवाले मिलाउनुपर्ने उनको भनाइ छ ।





