काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूले अटो अर्थात हायर पर्चेज क्षेत्रमा मात्र एक खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको देखिएको छ ।
बैकिङ क्षेत्रको समग्र कर्जा प्रवाहसम्वन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्ससहितका ५४ वटा संस्थाहरूले जेठ मसान्तसम्म कुल ५९ खर्ब सात अर्ब २५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अटो क्षेत्रमा मात्रै कुल एक खर्ब ४१ अर्ब ८८ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार अटो क्षेत्रमा प्रवाह भएको यो कर्जा अघिल्लो आवको सोही अवधिको तुलनामा झण्डै ११ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकिङ क्षेत्रले कुल ५५ खर्ब ५४ अर्ब ६४ करोड ७० लाख रुपैैयाँ कर्जा प्रवाह गरेकोमा अटो क्षेत्रमा मात्र कुल एक खर्ब ३० अर्ब ९३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
वाणिज्य बैंकहरूले मात्र जेठ मसान्तसम्म कुल ५२ खर्ब ५१ अर्ब ६७ करोड रुपैंयाँ कर्जा प्रवाह गर्दा अटो क्षेत्रमा मात्र एक खर्ब २७ अर्ब २२ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
अघिल्लो आवको सोही अवधिमा भने वाणिज्य बैंकहरूले कुल ४९ खर्ब ३२ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा अटो क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम एक खर्ब १५ अर्ब सात करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार विकास बैंकहरूले पनि २०८३ जेठ मसान्तसम्म कुल पाँच खर्ब ४७ अर्ब ५१ करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा अटो क्षेत्रमा मात्र कुल ११ अर्ब १९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवको सोही अवधिमा विकास बैंकहरूले कुल पाँच खर्ब २० अर्ब २५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा अटो क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम १२ अर्ब ४९ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
फाइनान्स कम्पनीहरूले मात्र भने २०८३ जेठ मसान्तसम्ममा कुल एक खर्ब आठ अर्ब सात करोड रुपैयाँ कर्जा प्रवाह गर्दा तीन अर्ब ४० करोड २० लाख रुपैयाँ बराबरको कर्जा अटो क्षेत्रमा प्रवाह गरेका छन् । अघिल्लो आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब एक अर्ब ९२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा अटो क्षेत्रमा मात्र कुल तीन अर्ब ३६ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको भनाइ छ ।





