जनकपुरधाम । जनकपुरमा एक मिटरब्याजपीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।
जनकपुर उपमहानगरपालिका–४ की फुलकुमारी रजकले बुधबार धनुषा जिल्ला अदालतको मुख्य सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । मिटरब्याजपीडितहरूले अदालतअगाडि विरोध प्रदर्शन गरिरहेका बेला उनले यस्तो प्रयास गरेकी प्रहरीले जनाएको छ ।
प्रहरीले तत्काल हस्तक्षेप गरी रजकलाई उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार उनलाई उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
रजकले अदालतबाट न्याय नपाएको गुनासो गर्दै आएकी थिइन् ।





