काठमाडौं ।  एप्पल इन्टरटेन्मेन्टले नयाँ फिल्म ‘भिडियोटेप’ बनाउने भएको छ। ललितपुरको लबिम मलस्थित क्यूएफएक्सको हलमा आयोजित कार्यक्रमबीच फिल्मको घोषणा गरिएको हो।

ओविद उद्दिनको निर्देशन रहने यो फिल्म हरर जनरामा बन्नेछ। ३० दिनसम्मको छायांकन तालिका रहेको फिल्म भदौ ५ गतेबाट उपल्लो मुस्ताङमा खिचिनेछ।

ADVERTISEMENT

यस फिल्ममा उपासना सिंह ठकुरी र कुन्दनमान शाक्यको मुख्य भूमिका रहनेछ। फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंह लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ।

ADVERTISEMENT

वशिष्ट प्रधानको डीओपी रहने फिल्मका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन्। कार्यक्रममा बोल्दै निर्देशक ओविदले भने, ‘म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ। यसैले आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु। यो कथा काल्पनिक विषयमा आधारित छ। कुनै पनि वास्तविक घटनासँग मिल्दैन।’

अभिनेत्री उपासना सिंह ठकुरीले फिल्मका लागि निकै उत्साहित रहेको बताइन्। उनले भनिन्, ‘एक वर्ष अगाडिदेखि नै यो फिल्मको विषयमा कुराकानी भइरहेको थियो। कथावस्तु निकै नै राम्रो छ। अब हामी फिल्मको छायांकनमा जाँदैछौँ। एकदमै उत्साहित छु।’

फिल्मलाई ४ करोडको बजेटमा निर्माण गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो। फिल्ममा महेश बरालको मुख्य सहायक निर्देशन रहनेछ। कार्यक्रममा बोल्दै एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन सबैसँग आग्रह गरेका थिए।