काठमाडौँ — आज शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘हली’ र ‘कमला मिस’ देशभर प्रदर्शनमा आएका छन्। फरक–फरक कथावस्तुमा आधारित यी दुवै फिल्मले एकै दिनबाट दर्शकमाझ यात्रा सुरु गरेका हुन्।
निर्देशक ओम प्रतिकको ‘हली’ ले छाउपडी प्रथा र हली प्रथाविरुद्ध सशक्त आवाज उठाएको छ। ओम प्रतिक स्वयंले लेखेको फिल्ममा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा बनेको फिल्मका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठ हुन्। फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गरेको छ।
यस्तै, वरिष्ठ कलाकार निर शाहले आठ वर्षपछि निर्देशनमा पुनरागमन गर्दै ‘कमला मिस’ दर्शकमाझ ल्याएका छन्। साहित्यकार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित फिल्ममा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगरलगायत कलाकारको अभिनय रहेको छ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि निर्माण गरिएको फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गरेका छन्। यद्यपि, यी दुई फिल्मले प्रदर्शन थाले पनि नेपाली बक्स अफिसमा प्रतिस्पर्धा उनीहरूबीच मात्र सीमित छैन।
केही विदेशी फिल्म र तीन साताअघि प्रदर्शनमा आएको ‘गौथली’ ले पनि देशभरका अधिकांश हल ओगटेकाले प्रदर्शन प्रतिस्पर्धा थप रोचक बनेको छ।





