काठमाडौं — विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्राडा. खड्ग केसीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष केसीलाई शपथ गराएका हुन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

यसअघि अध्यादेशमार्फत आयोगका अध्यक्ष प्राडा. देवराज अधिकारी पदमुक्त भएपछि उक्त पद रिक्त रहेको थियो। अधिकारीले भने अध्यादेश जारी हुनुअघि नै राजीनामा दिएका थिए।

ADVERTISEMENT

नवनियुक्त अध्यक्ष केसीले पनि अध्यादेश जारी हुनुअघि त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनी २०८१ वैशाखमा त्रिविको शिक्षाध्यक्षमा नियुक्त भएका थिए। तत्कालीन उपकुलपति प्राडा. केसरजंग बरालको राजीनामापछि उनले उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक रहेका केसी अब विश्वविद्यालय अनुदान आयोगको नेतृत्व सम्हाल्नेछन्।