काठमाडौं — दर्शकमाझ चर्चित बनेको नेटफ्लिक्स सिरिज ‘मुसाफिर क्याफे’ को दोस्रो सिजन निर्माण हुने भएको छ। नेटफ्लिक्स इन्डियाले औपचारिक घोषणा गर्दै नयाँ सिजनमार्फत कथा अगाडि बढाइने जनाएको हो।

दोस्रो सिजनमा पनि विक्रान्त मेसी, वेदिका पिन्टो र महिमा मकवाना मुख्य भूमिकामा रहनेछन्। पहिलो सिजन भावनात्मक मोडमा अन्त्य भएपछि चन्दरले अन्ततः सुधा रोज्छन् कि प्रीति भन्ने विषयमा दर्शकमाझ व्यापक चर्चा हुँदै आएको छ।

नेटफ्लिक्स इन्डियाकी सिरिज प्रमुख तान्या बामीका अनुसार ‘मुसाफिर क्याफे’ले दर्शकको मन जित्न सफल भएको छ। सिरिजको अन्त्य र पात्रहरूको भविष्यबारे सामाजिक सञ्जालमा भएको उत्साहजनक प्रतिक्रियाले दोस्रो सिजन निर्माण गर्ने निर्णयलाई थप बल दिएको उनले बताइन्।

ADVERTISEMENT

श्रृंखलाकी क्रियटर तथा लेखक शरण्या राजगोपालले दोस्रो सिजनमा चन्दर, सुधा र प्रीतिको सम्बन्धले नयाँ मोड लिने र प्रेम, प्रतीक्षा तथा सम्बन्धका भावनात्मक आयामलाई अझ गहिराइमा प्रस्तुत गरिने जानकारी दिएकी छन्।

ADVERTISEMENT

पहिलो सिजनमा सन् २०१८ मा चन्दर–सुधाको प्रेमकथा र सन् २०२६ मा प्रीतिसँग चन्दरको विकसित हुँदै गएको सम्बन्धलाई समानान्तर रूपमा प्रस्तुत गरिएको थियो। अन्तिम दृश्यमा सुधा मंसुरीस्थित ‘मुसाफिर क्याफे’मा चन्दरलाई भेट्न पुग्छिन्। चन्दरले अझै सुधाप्रतिको प्रेम स्वीकार गर्दा प्रीतिले भने चन्दर विवाहका लागि तयार भएको ठान्छिन्, र कथा त्यहीँ अधुरो मोडमा टुंगिन्छ।

शरण्या राजगोपालद्वारा सिर्जित तथा लिखित र रूचिर अरूणद्वारा निर्देशित ‘मुसाफिर क्याफे’ दिव्य प्रकाश दुबेको पुस्तकका पात्रहरूबाट प्रेरित सिरिज हो। भारतसँगै नेपालमा पनि यसले उल्लेखनीय लोकप्रियता हासिल गरेको छ।