काठमाडौं । नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय तिब्बती अध्ययन सम्मेलन स्थगित भएको छ ।
तराई मधेशमा फैलिएको साम्प्रदायिक दंगाले चारजनाको मृत्यु, दर्जनौं घाइते र करोडौं मूल्यबराबरको सम्पत्तिको क्षति भएपछि सरकारले द्वन्द्व नफैलियोस् भनेर सम्मेलन स्थगित गरेको बताइन्छ ।
आगामी भदौ ७ देखि १२ गतेसम्म धुलिखेलमा उद्घाटन र काठमाडौंको सोल्टी होटलमा बन्दसत्र तथा छलफल गर्ने तयारी गरिएको इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिजको १७औँ सम्मेलन नेपाल सरकारको निर्देशनपछि स्थगित गरिएको हो ।
हिमालयन सेन्टर फर एसियन स्टडिज र काठमाडौं विश्वविद्यालयस्थित सेन्टर फर बुद्धिस्ट स्टडिजले संयुक्त रूपमा आयोजना गर्न लागेको सम्मेलन स्थगित भएको जानकारी बुधबार साँझ दिइएको थियो ।
सम्मेलनमा ४० देशका करिब ७४० प्रतिनिधि सहभागी हुने तयारी थियो। भारतस्थित दलाई लामाको केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले समेत प्रतिनिधि पठाउने निर्णय गरिसकेको अवस्थामा अन्तिम समयमा सहभागिता फिर्ता लिएको थियो ।
सम्मेलनप्रति छिमेकी चीनले विशेष चासो राखेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको पूर्वसन्ध्यामा सम्मेलन स्थगन हुनुलाई राजनीतिक रुपमा अर्थपूर्ण ठानिएको छ ।





