काठमाडौँ । केप भर्डे राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक पेड्रो लैताओ ब्रिटो (बुबिस्टा) मोरक्कोको क्लब रेनेसाँ बर्कानको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले क्लबसँग दुई वर्षका लागि सम्झौता गरेका छन्।
बुबिस्टाले पछिल्ला छ वर्ष केप भर्डे राष्ट्रिय टोलीको नेतृत्व गर्दै उल्लेखनीय सफलता दिलाएका थिए। उनको प्रशिक्षणमा टोलीले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको नकआउट चरणमा स्थान बनाएको थियो भने सन् २०२४ को संस्करणमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।
मोरक्कोका सञ्चारमाध्यमका अनुसार बुबिस्टा राष्ट्रिय टोलीसँगै क्लबको जिम्मेवारी पनि सम्हाल्न इच्छुक थिए। तर रेनेसाँ बर्कानले पूर्ण रूपमा क्लबमै केन्द्रित हुनुपर्ने सर्त राखेपछि उनले केप भर्डेको जिम्मेवारी छाड्ने निर्णय गरेका हुन्।
राष्ट्रिय टोलीको लामो अनुभवपछि बुबिस्टाका लागि क्लब फुटबलमा मुख्य प्रशिक्षकको भूमिकामा यो पहिलो अवसर हुनेछ।




