काठमाडौं । भारतको झारखण्ड राज्यमा परीक्षाहरूमा भएको भनिएको अनियमितताको विरोधमा युवाको प्रदर्शन लगातार छैटौँ दिन पनि जारी छ ।
आइतबार विद्यार्थी नेता देवेन्द्रनाथ महतोले राँचीस्थित जयपाल सिंह मुन्डा स्टेडियममा अनिश्चितकालीन भोक हड्ताल सुरु गर्ने घोषणा गरेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार सञ्चारकर्मीसँग कुरा गर्दै महतोले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई बुझाइएका माग पूरा नभएसम्म आफ्नो भोक हड्ताल जारी रहने बताएका छन् ।
प्रदर्शनकारी विद्यार्थीले प्रतिस्पर्धी परीक्षा प्रणालीलाई थप पारदर्शी र निष्पक्ष बनाउन माग गरिरहेका छन् । उनीहरूले सरकारसँग वार्ता गरी आफ्ना माग सम्बोधन गर्न पनि आग्रह गरेका छन् ।
महतोले झारखण्ड लोक सेवा आयोगद्वारा सञ्चालित १४औँ संयुक्त नागरिक सेवा प्रारम्भिक परीक्षा रद्द गरिनु नै आन्दोलनको पहिलो माग भएको बताए । यसका साथै उनले झारखण्ड कर्मचारी चयन आयोगअन्तर्गत सञ्चालन हुने परीक्षाहरूमा पनि व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।
यसैबीच, दिल्लीमा ‘नीट’ प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर आन्दोलन गरिरहेको ‘ककरोच जनता पार्टी’ले झारखण्डमा भइरहेको विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत झारखण्डका आन्दोलनरत विद्यार्थीसँग आफूहरूको कुराकानी भएको जानकारी दिँदै ककरोच जनता पार्टीले झारखण्डका सम्पूर्ण विद्यार्थीको साथमा रहेको र उनीहरूका मागको समर्थन गर्ने बताएका समाचारमा उल्लेख छ ।




