काठमाडौं । देशका मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा सोमबार बिहानदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हल्कादेखि मध्यम वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो तीन घण्टाको विवरणअनुसार गण्डकी प्रदेशका धेरै स्थानमा उल्लेखनीय वर्षा भएको छ। तनहुँमा सबैभन्दा बढी ५२.४ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

महाशाखाका अनुसार अहिले पनि धेरै स्थानमा वर्षा भइरहेको छ भने दिनभर थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। आज दिउँसो पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

ADVERTISEMENT

यस्तै, बागमती र गण्डकी प्रदेशका तराईका अधिकांश स्थान तथा मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। साथै गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

ADVERTISEMENT

पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई सडकको अवस्था र मौसमको जानकारी लिएर मात्रै यात्रा गर्न तथा सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्न मौसमविद्ले अनुरोध गरेका छन्।