काठमाडौं । हिमपहिरोमा परेर बेपत्ता भएको तीन दिनपछि उद्धार टोलीले ब्रोड पिक हिमालको करिब ५७०० मिटरको उचाइमा नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला पारेको छ।
शनिबार उनको आरोहण आयोजक कम्पनी एलिट एक्सपेडले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित आरोहण दलका सबै सदस्यहरूको मृत्यु भइसकेको घोषणा गरेको थियो।
एसीपीकी नाइला कियानीले आइतबार पाकिस्तानी पत्रिका डन लाई बताएअनुसार, त्यतिन्जेलसम्म तीनजना पर्वतारोहीका शव तथा अमेरिकाका एक पर्वतारोहीको हुनसक्ने अवशेष फेला परेका थिए।
एसीपीले एक विज्ञप्ति जारी गर्दै पुर्जाको शव फेला परेको जानकारी दिएको हो । ‘अल्पाइन क्लब अफ पाकिस्तान अत्यन्त दु:खका साथ यो जानकारी साझा गरिरहेको छ। स्थलगत उद्धार टोली ब्रोड पिकको करिब ५,७०० मिटरको उचाइमा रहेका निर्मल पुर्जा निम्स दाईसम्म पुगेको छ, त्यहाँ अन्य तीनवटा शवहरू पनि देखिएका छन्, यद्यपि तिनको पहिचान अझै पुष्टि हुन बाँकी छ। स्थलगत टोलीले ती शवहरूलाई तल जापानी क्याम्पसम्म ल्याउने छ,’ विज्ञप्तिमा भनिएको छ ।
एसीपीले कठिन भूभागका बीच शव निकाल्ने प्रयास जारी रहेको जनाएको छ । ‘अत्यन्त कठिन भू भागका बाबजुद शव निकाल्ने प्रयास जारी छ। यो जानकारी प्रारम्भिक स्थलगत प्रतिवेदनमा आधारित छ र यसको थप पुष्टि हुन बाँकी छ। हामी सर्वसाधारणलाई अपिल गर्छौं कि पुष्टि नभएका विवरणहरू साझा गर्नुअघि आधिकारिक जानकारीको प्रतीक्षा गर्नुहोस्,’ विज्ञप्तिमा भनिएको छ।
एसीपीका महासचिव अयाज सिगरीले डनलाई बताएअनुसार उद्धार कार्यका लागि स्थलगत उद्धार टोली हिमालमा रहेको एडभान्स्ड बेस क्याम्पतर्फ अघि बढिरहेको थियो। उनले हिमालको भूबनोट, हिमपहिरोको जोखिम र ठाडा भिरालोपनले उद्धार प्रयासमा चुनौती खडा गरिरहेको तथा मौसमका कारण हेलिकप्टर प्रयोग गर्न नसकिएको बताएका थिए ।
त्यसपछि, एसीपीले एक विज्ञप्ति जारी गर्दै पाकिस्तान र नेपालका पर्वतारोहीहरू सम्मिलित आठ सदस्यीय स्थलगत टोली बिहान ९ बजेअघि नै क्याम्प १ मा पुगेको जानकारी दियो।





