काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृंखलामा अवस्थित ८०४७ मिटर अग्लो ब्रोड पिक आरोहण गर्न गएको पर्वतारोहण टोली सम्पर्कविहीन भएको छ ।

बिहीबार मध्याह्नतिर हिमपहिरो गएपछि पर्वतारोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।

ADVERTISEMENT

नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक छन् ।

हिमपहिरोमा परी बेपत्ता भएका विश्वकीर्तिमानी आरोही निर्मल पुर्जाको ट्र्याकिङ डिभाइसमा हलचल देखिएको छ। बीबीसीका अनुसार पुर्जाको लोकेसन देखाउने यन्त्र सक्रिय रहेको पाइएको हो।

ADVERTISEMENT

पुर्जाका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पाले ट्र्याकिङ प्रणालीमा डिभाइसको स्थान परिवर्तन भइरहेको जानकारी दिएका छन्। बिहीबार दिउँसो हिमपहिरो गएको भए पनि यसबारे विस्तृत जानकारी साँझ मात्र प्राप्त भएको शेर्पाको भनाइ छ।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मान्ने गरिएको छ । पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायसँग निरन्तर समन्वयमा रही तत्काल खोज तथा उद्धार अभियान सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।

पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिमपहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ ।

पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेका जनाएका छन् ।