नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २४ अर्ब १८ करोड ७६ लाख रुपैयाँ संस्थागत निक्षेपका रूपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। राष्ट्र बैंकले वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीहरूलाई लगानीका लागि आवेदन दिन आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले यही साउन १९ गतेसम्म संस्थागत मुद्दती निक्षेपका रूपमा राख्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ। उक्त रकम ३६६ दिन अवधिका लागि अर्थात् २०२६ अगस्ट १२ देखि २०२७ अगस्ट १२ सम्म लगानी गरिनेछ।

ADVERTISEMENT

राष्ट्र बैंकले कुल रकममध्ये वाणिज्य बैंकका लागि १९ अर्ब ३५ करोड २० लाख रुपैयाँ, विकास बैंकका लागि ३ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ र फाइनान्स कम्पनीका लागि १ अर्ब २० करोड ९३ लाख रुपैयाँ छुट्याएको छ।

रकम प्राप्त गर्न इच्छुक संस्थाले राष्ट्र बैंकले तोकेका विभिन्न मापदण्ड पूरा गर्नुपर्नेछ। जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम कुल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) ८ प्रतिशतभन्दा कम र खुद निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा कम हुनुपर्नेछ।

ADVERTISEMENT

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत कायम भएको, कर्जा तथा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको र सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ।

राष्ट्र बैंकले लगानी गरिने संस्थामा नियामकीय कारबाही, समस्याग्रस्त घोषणा वा शीघ्र सुधारात्मक कारबाहीको अवस्थासम्बन्धी समेत शर्त राखेको छ। साथै, रियल स्टेट कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी नभएको संस्था मात्र लगानीका लागि योग्य हुने जनाएको छ।