काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिका सांसदहरूले निर्वाचन प्रणालीलाई कम खर्चिलो, पारदर्शी र सहज बनाउनुपर्नेमा जोड दिएका छन्।

सिंहदरबारस्थित समितिको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइका क्रममा सांसदहरूले निर्वाचन सुधारसँग सम्बन्धित विभिन्न विषयमा प्रश्न तथा सुझाव राखेका हुन्।

ADVERTISEMENT

सांसदहरूले विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने, ‘नो भोट’को व्यवस्था लागू गर्ने, अन्तरजिल्ला मतदानको सुविधा दिने, निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउने तथा निर्वाचन खर्चमा पारदर्शिता कायम गर्नुपर्ने विषय उठाएका छन्।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगको नेतृत्व संविधान र कानुनले दिएको अधिकारले मात्र नभई सुधारमुखी कार्ययोजनाबाट पनि प्रभावकारी बन्नुपर्ने बताउनुभयो। उहाँले निर्वाचन प्रक्रिया कम खर्चिलो बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै सुशासनको पहिलो आधार राजनीतिक दलको सुधार र पुनःसंरचना रहेको धारणा राख्नुभयो।

ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले निर्वाचन प्रणाली सुधार, ‘नो भोट’को व्यवस्था कार्यान्वयन तथा निर्वाचन खर्च र चन्दादाताको पहिचानका विषयमा प्रश्न गर्नुभयो।

नेकपा (एमाले)का सांसद डा. प्रेमप्रसाद दङ्गालले विदेशमा रहेका नेपालीको मतदान सुनिश्चित गर्ने तयारी, कृत्रिम बौद्धिकता (एआई) र अल्गोरिदमको प्रयोगजस्ता विषयलाई निर्वाचन आयोगले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो।

रास्वपाका सांसद कविन्द्र बुर्लाकोटीले मतदातामा मतदानप्रतिको उत्साह घट्दै गएको भन्दै मतदानको महत्वबारे जनचेतना बढाउनुपर्ने बताउनुभयो। उहाँले युवालाई निर्वाचन प्रक्रियाप्रति आकर्षित गर्ने कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो।

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षामान पुनले निर्वाचन आयोग स्वतन्त्र संवैधानिक निकाय भएकाले निष्पक्ष रूपमा काम गर्नुपर्ने भए पनि कतिपय अवस्थामा ठूला दलको प्रभाव देखिने गरेको टिप्पणी गर्नुभयो।

नेकपा (एमाले)की सांसद पद्मा अर्यालले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै दुर्गम क्षेत्रको निर्वाचन सुरक्षामा पनि ध्यान दिन आग्रह गर्नुभयो।

त्यस्तै, सांसद नरबहादुर विष्टले समावेशिताको अवधारणाअनुसार महिलालाई मुख्य नेतृत्वदायी पदमा समान अवसर दिनुपर्ने विषयमा सोच्नुपर्ने धारणा राख्नुभयो।