काठमाडौं । प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप बुधबारदेखि सुरु भएको छ। काठमाडौं खेलमण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबको भवनमा प्रतियोगिता सञ्चालन भइरहेको हो।
प्रतियोगिताको उद्घाटन दिन भएको पहिलो खेलमा नेपालका नम्बर एक स्नूकर खेलाडी वाङचु तामाङ विजयी हुनुभएको छ। समूह ‘ए’ अन्तर्गत भएको खेलमा तामाङले विनोद श्रेष्ठलाई बेस्ट अफ सेभेनको खेलमा ४–२ ले पराजित गर्नुभयो।
प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडी तथा आयोजकको एक खेलाडी गरी १६ खेलाडीको सहभागिता रहेको छ। सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई खेलाडी नकआउट चरणमा प्रवेश गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले गर्नुभएको थियो। प्रतियोगिता संयोजक तथा एनआरटीका केन्द्रीय सदस्य राजेन्द्र शाक्यले प्रतियोगिताका खेलहरू एनआरटीको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको जानकारी दिनुभयो।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँसहित च्याम्पियन ट्रफी प्राप्त गर्नेछन्। उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् भने सेमिफाइनलमा पुग्ने दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
यस्तै, सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ र ८० अंकभन्दा बढीको हाइएस्ट ब्रेक गर्ने खेलाडीलाई २० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।





