काठमाडौं । गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्ममाथि नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेको भन्दै कानुनी कारबाही गरिएको छ। गुणस्तर तथा नापतौल कार्यालय पोखराका अनुसार नापतौलसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिएको हो।
गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलका अनुसार नापतौल यन्त्रको अनियमित वा अवैध प्रयोग गर्ने फर्ममाथि स्ट्यान्डर्ड नापतौल ऐन, २०२५ तथा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको हो।
कारबाहीमा पर्ने फर्महरू गण्डकी प्रदेशका कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका रहेका छन्। कार्यालयले उपभोक्ताको हित संरक्षण र व्यापारिक कारोबारमा सही नापतौल सुनिश्चित गर्न अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ।
यसैगरी कार्यालयले नयाँ कारोबार सञ्चालनका लागि एक हजार ७८ वटा तथा पुराना २८ वटा व्यावसायिक फर्मलाई नापतौल यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान गरेको छ।
कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न शीर्षकअन्तर्गत ७८ लाख ५२ हजार ९६७ रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ। नापतौल प्रणालीलाई व्यवस्थित बनाउन तथा उपभोक्तामाथि हुने सम्भावित ठगी नियन्त्रण गर्न नियमित अनुगमन र कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयको भनाइ छ।








