काठमाडौं । चेरी अटोमोबाइल ग्रुपअन्तर्गतको प्रिमियम ब्रान्ड आइकारको नयाँ अफरोड एसयूभी ‘भी–२७’ नेपाली बजार प्रवेश गर्ने भएको छ । आगामी नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै आइकार भी–२७ नेपाल ल्याउन लागिएको हो ।

नेपालका लागि आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले भी–२७ लाई अगस्टको पहिलो सातासम्म नेपाल भित्र्याउने तयारी गरेको जनाएको छ । कम्पनी स्रोतका अनुसार उक्त मोडललाई एक्स्पोमा प्रदर्शनी गरिने निश्चित भइसकेको छ ।

ADVERTISEMENT

आइकार भी–२७ एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक भेहिकल प्रविधिमा आधारित हाइब्रिड अफरोड एसयूभी हो । यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले आवश्यक पर्दा ब्याट्री चार्ज गर्न सहयोग गर्नेछ । चीनमा यो मोडल रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुवै विकल्पमा उपलब्ध रहे पनि नेपाली बजारमा कुन ड्राइभ सिस्टमको मोडल ल्याइनेछ भन्ने विषयमा हालसम्म जानकारी प्राप्त भएको छैन ।

ADVERTISEMENT

यसको अल ह्वील ड्राइभ भेरियन्टले अधिकतम ३३५ किलोवाट पावर र ५०५ न्युटन मिटर टर्क उत्पादन गर्न सक्छ । कम्पनीका अनुसार उक्त मोडलले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ५.५ सेकेन्डमा हासिल गर्न सक्छ ।

भी–२७ मा ३४.३ किलोवाट आवर क्षमताको सीएटीएलद्वारा निर्मित एलएफपी ब्याट्री प्याक जडान गरिएको छ । उक्त ब्याट्रीले करिब १४५ किलोमिटरसम्मको शुद्ध विद्युतीय, प्योर इभी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । त्यस्तै, इन्धन ट्यांकी पूर्ण भरिएको अवस्थामा यसको कुल ड्राइभिङ रेन्ज करिब १,२०० किलोमिटरसम्म पुग्ने बताइएको छ ।

ADVERTISEMENT

भी–२७ ठूलो एसयूभीमध्ये एक हो । यसको लम्बाइ ५,०५५ एमएम, चौडाइ १,९७६ एमएम तथा उचाइ १,८९४ एमएम छ । साथै, यसमा २,९१० एमएम लामो ह्वीलबेस उपलब्ध छ, जसले पर्याप्त क्याबिन स्पेस प्रदान गर्ने अपेक्षा गरिएको छ ।

आइकार भी–२७ अत्याधुनिक सुविधाले सुसज्जित रहेको छ । यसमा होराइजन जर्नीको ६–पी चिपसेट प्रयोग गरिएको छ भने एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमअन्तर्गत फाल्कन ७०० प्लेटफर्म समावेश गरिएको छ ।

नेपालमा पहिलोपटक सार्वजनिक हुन लागेको यो अफरोड हाइब्रिड एसयूभीले आगामी नाइमा मोबिलिटी एक्स्पोमा दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ । नेपाली बजारमा यसको मूल्य र उपलब्ध भेरियन्टबारे थप जानकारी कम्पनीले एक्स्पो नजिकिँदै गर्दा सार्वजनिक गर्ने सम्भावना छ ।