काठमाडौं । आफूमाथि कुटपिट गर्ने र धम्क्याउने विरुद्ध कलाकार अशोक दर्जीले प्रहरीमा उजुरी दिएका छन् ।
सो कार्यमा संलग्न अंकित प्रधानसहित शनिश्चरेका दुईजनालाई कानुनी कार्वाहीको माग गर्दै दर्जीले झापाको विर्तामोडस्थित अनारमनी इलाका प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।
पैसा माग्दै दर्जीलाई कुटपिट गरेको भिडियो आइतबार सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनका प्रशंसक र कलाकर्मीले कुट्नेलाई कार्वाहीको माग गरेका थिए ।
उक्त भिडियो भाइरल भएपछि दर्जीले प्रहरीमा उजुरी दिएका हुन् । दर्जीले प्रहरीमा दिएको उजुरीको प्रति फिल्म निर्मात्री नीता ढुंगानाले सामाजिक सञ्जालबाटै सार्वजनिक गरेकी हुन् ।
दर्जीले नीताले निर्माण गरेको आगामी फिल्म ‘पार्वती’मा पनि अभिनय गरेका छन् । बालगायक र बालकलाकार समेत रहेका दर्जीले प्रहरीकहाँ दिएको उजुरीमा आफूमाथि कुटपिट गर्नेले १ महिनाअघि नै उक्त भिडियो खिचेर राखेको र पटक–पटक हटाउन भनेपनि नमानेको उल्लेख गरेका छन् ।
गायक दर्जी पछिल्लो समय झापास्थित घरमा बस्दै आएका छन् ।





